सरकारद्वारा पदक विजेता खेलाडी सम्मानित


२३ भदौ । गत वर्ष विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सरकारले नगदसहित सम्मान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरको कार्यक्रममा करिब १४ वटा खेलकुद सङ्घमा रहेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै स्वर्ण, रजत र कास्यप पदक जितेका १०९ खेलाडीलाई सम्मान गरियो । जसमा ३५ स्वर्ण, ४२ रजत र ३२ कास्यप जित्ने खेलाडी छन् । उनीहरुमध्ये स्वर्ण जित्नेलाई जनही रु २० हजार, रजतलाई रु १५ हजार तथा कास्यपले रु १० हजार प्राप्त गरे । स्वर्ण जित्नेमा तेक्वान्दोका निशा रावल, बब्लु सिवाकोटी, काजल श्रेष्ठ, अस्मिता खड्का र राजन भण्डारीलगायत छन् ।

त्यस्तै करातेका पुरुषोत्तम पोखरेल तथा किकबक्सिङका रिजन थापा मगर, बिन्दा नेपाली, आरती तामाङ र सन्तोष खड्कालगायत छन् ।

सोही कार्यक्रममा राखेपका सदस्यसचिव केशवकुमार विष्टले गत मङ्गलबार भुटानमा भएकोे शारीरिक सुगठनको ५०औँ एसियन च्याम्पियनसिपको उपाधि जितेका महेश्वर महर्जनलाई सम्मान गरे ।
सदस्य सचिव विष्टले सानै रकम भए पनि सरकारले प्रोत्साहनस्वरुप दिएकाले त्यसलाई ठूलो रुपमा लिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्