सरकारमा आउन कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह


२७ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरेको २४ घण्टा पनि वित्न नपाउदैँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई वर्तमान सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

विराटनगर विमानस्थलमा विहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसलाई यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले दलहरु सँगै मिलेर धेरै काम गर्नुपर्ने भएको भन्दै मधेसी मोर्चालाई पनि सहमतिमा आउन आग्रह गरे । ‘उहाँहरुका माग र असन्तुष्टिलाई सम्बोधन गर्न सकिने ठाउँ छ,’ उनले भने, ‘म उहाँहरुलाई वार्तामा आउन आग्रह गर्छु ।’

संविधान कार्यान्वयन, आर्थिक समृद्धि, संरचनाको निर्माण, स्थानीय निकायको निर्वाचन र संविधान कार्यान्वयन गराउन पनि प्रमुख दलहरुबीच एकता आवश्यक रहेको उनको भनाई थियो । प्रधानमन्त्री ओलीले विगतमा प्रमुख चार दलबीच भएको १६ बुँदेको पनि स्मरण गरे । उनले संविधान कार्यान्वयनमा सँगै अघि बढ्न आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्