सरकारलाई ईश्वर पोख्रेलको चुनौती– ‘संशोधन प्रस्ताव संसद्मा पेश गरेर देखाओस्’


१७ पुुस । नेकपा (एमाले) का महासचिव ईश्वर पोख्रेलले संविधानको किटानी व्यवस्था विपरीत गएर सरकारले संविधान संशोधन विधेयक ल्याएको भन्दै संसद्मा पेश गरेर देखाउन चुनौती दिएका छन् । प्रेस चौतारी नेपाल काठमाडौं शाखाले आगामी पुस २२ गते हुने जनप्रदर्शनका सन्दर्भमा राजधानीमा आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा महासचिव पोख्रेलले यस्तो चुनौती दिएका हुन् ।

महासचिव पोखरेलले संशोधन प्रस्ताव राष्ट्रिय हितविपरीत र सामाजिक सद्भाव खल्बल्याउने भएको पनि दाबी गरे । ‘यो प्रस्ताव सामाजिक सद्भावमा टिकेको नेपाली समाजको विरोधी, जनविरोधी, संविधानविरोधी छ,’ उनले भने, ‘यसले सर्वोच्च अदालतको समेत अवहेलना गरेको छ । यो प्रस्ताव कुनै हालतमा पनि एमालेलाई मान्य हुँदैन ।’ प्रदेशको सीमा हेरफेर संविधान विरोधी भएकाले संशोधन प्रस्तावका विषयमा संसद्मा छलफल गर्नु गलत हुने उनको तर्क थियो ।

‘संविधान संशोधन विधेयक संविधानको धारा २७४ को किटानी व्यवस्थाविरुद्ध छ,’ पोखरेलले भने, ‘सरकार कसरी संवैधानिक व्यवस्था विरुद्ध उभिँदो रहेछ भनेर हेर्न चाहन्छौँ ।’ अदालतमा विचाराधिन रहेको मुद्दामा कुनै हालतमा संशोधन छलफल हुन नसक्ने उनले जिकिर गरे ।
सरकारले संविधान संशोधनका लागि टेबुल गर्ने तयारी गरे पनि कुनै हालतमा टेबुल हुन नदिने उनको भनाइ थियो । उनले संविधान संशोधन गर्न नहुने भन्दै एमालेसहितका नौ दलले विरोध जनाइसकेको स्मरण गर्दै भने– ‘यस्तो अवस्थामा कुनै हालतमा टेबुल हुँदैन ।’

उनले हिन्दी भाषालाई संविधानको अनुसूचिमा राखेर कालान्तरमा सरकारी कामकाजी भाषा बनाउने योजनामा सरकार रहेको भन्दै यसलाई एमालेले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए । ‘सरकारले निर्वाचन गराउन खोजेमा हामी सहयोग गर्न तयार छौं, देशले चाहेको पनि निर्वाचन नै हो,’ उनले भने, ‘निर्वाचनका लागि कानुनमा संशोधन गर्ने हो भने वार्ता गरौं ।’

एमालेसहितका नौ दलले पुस २२ गते गर्ने भनेको जनप्रदर्शन राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रता र संविधान कार्यान्वयनको पक्षमा रहेको पोखरेलले बताए । उनले २२ गते ३३ ठाउँबाट जुलुस निकाल्ने र त्यसको व्यवस्थापनका लागि पाँच सय स्वयंसेवक परिचालन गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्