सरकारलाई औँला उठाएर भीम रावलले भने– ‘सिके राउतलाई खुला सभा गर्न सरकारले आदेश दिएको हो ?’


 ७ माघ ।  केही दिन अघि मात्र राष्ट्रघाती काम गर्ने मधेसी नेताहरुलाई हाल्नु पर्ने अभिव्यक्ति दिएका एमाले उपाध्यक्ष भीम रावलले शुक्रवार व्यवस्थापिका संसद्मै सरकारको चर्को आलोचना गरेका छन् ।

विदेशी दूतावासमा भात खाएर नेपालको संविधान संशोधनको कुरा गर्ने मधेसी नेताहरुलाई नेपालको कानुन अनुसार जेल हाल्नुपर्ने तर्क गरेका रावलले शुक्रवार व्यवस्थापिका संसद्को बैठकमा विशेष समय लिएर बोल्दै सिके राउतलगायतले स्वतन्त्र मधेस राष्ट्र भनेर अभियान चलाउँदा र खुला सभा गर्दा सरकार रमिते बनेको आरोप लगाए ।

रावलले गएको पुस १९ गते भारतको विहार राज्यमा पर्ने पटनामा सिके राउत, ज्वाला सिंह, गोहित र केही पत्रकारहरुले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामा आँच आउने गरी छलफल गरेको सूचना आफूले थाहा पाएपछि प्रधानमन्त्रीलाई खवर गरेको तर उनले हल्का ढंगले दिएको आरोप उनले व्यवस्थापिका संसद्मा लगाए । उनले केही दिन अघि नेपालकै प्रधानमन्त्री होलान् भनेर देशका लागि चासो व्यक्त गरेँ पनि  उल्टै मधेसी मोर्चालाई प्रयोग गरेर आफूविरुद्ध प्रधानमन्त्री प्रचण्डले झुटको खेती गरेको आरोप लगाएका थिए ।

उनले त्यसैबेला पनि सरकारलाई पनि चुनौतीको भाषामा भनेका थिए– ‘यदि सरकार छ र सरकारले हिम्मत गर्छ भने उनीहरुलाई जेल हालोस् ।’
रावलले शुक्रवारको बैठकमा सरकार सत्ता लब्याउने खेलमा मात्र लागेको आरोपसमेत लगाए । रावलले भेलाबारे छलफल गर्न सुरक्षा निकायका प्रमुख र प्रमुख प्रतिपक्षी दलसहितको बैठक राख्न समेत माग गरे । उनले आफूले उठाएका विषयमा प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने समेत माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्