सरकारलाई खनालको चेतावनी– ‘संसद्मा पेलेर जान खोजे प्रतिकार गर्छौँ’


१८ पुस । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दलले व्यवस्थापिका संसद्मा पेलेर जान खोजे आफ्नो पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलले यही पुस २२ गते काठमाडौंमा गर्ने जनप्रदर्शनका सन्दर्भमा सोमबार एमालेको जिल्ला प्रचार विभाग र प्रेस चौतारी नेपाल भक्तपुर शाखाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै खनालले यस्तो चेतावनी दिएका हुन् ।  उनले राष्ट्रलाई विखण्डन गराउने गरी कुनै पनि संशोधन हुन नसक्ने जिकिर गरे ।

‘पाँच नम्बर प्रदेशका तराई र पहाडलाई अलग बनाउने प्रस्ताव अन्ततः एक मधेस ः एक प्रदेश बनाउने मनसायले आएको हो,’ उनले भने, ‘त्यस्तो प्रस्तावलाई संसद्मा छलफल र पारित गर्न हामी दिदैनौँ ।’ उनले आन्दोलनको आवाज नसुने अहिले सरकारमा रहेका दल आगामी निर्वाचनमा बत्ती बालेर खोज्नुपर्ने अवस्थामा पुग्ने पनि चेतावनी दिए ।

नेपालको संविधान लोकतान्त्रिक चरित्रको भए पनि यसमा रहेका कतिपय कमजोरी क्रमशः सुधार गर्नुपर्ने तर हाललाई गतिशील दस्तावेजका रुपमा यसको कार्यान्वयनमा जानुको विकल्प नभएको उनको तर्क थियो । कार्यक्रममा जिल्ला प्रचार विभागका प्रमुख श्यामसुन्दर बस्नेत, चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्