सरकारलाई रवीन्द्र अधिकारीको प्रश्नः ‘चाडवाड मान्न जन्मस्थान जान चाहनेलाई यातायातको व्यवस्था खोइ ?’


१४ असोज । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद नारायणप्रसाद साउदले संविधान संशोधनका विषय र बुँदाका बारेमा सदनमा छलफल गर्न माग गरे ।  सभामुख ओनसरी घर्तीसँग समय लिई उहाँले संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दल नेपकपा (एमाले) लाई पनि साथ र सहयोग लिन आग्रह गर्दै उनले संविधान कार्यान्वयनमा सबै राजनीतिक दलले जोड दिनुपर्छ भने ।

सोही पार्टीका दिलमान पाख्रिनले धादिङको उत्तरी क्षेत्र मार्पाकमा हालै भएको बस दुर्घटनामा मृत्यु भएका १९ जनाको परिवारले हालसम्म क्षतिपूर्ति नपाएको भन्दै सरकारको तर्फबाट उचित क्षतिपूर्ति प्रदान गर्न र भूकम्पपीडित जनतालाई अनुदानको रकम वितरण गर्ने काम छिटो गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले)का पशुपति चौलागाइँले दोलखा जिल्लाको चरिकोटमा रहेको प्राथमिक उपचार केन्द्रमा भएको घटानलाई लिएर सरकारले जिल्लाबाट सबै चिकित्सक फिर्ता लिने काम गरेकोमा आपत्ति जनाउँदै शीध्र सो उपचार केन्द्रमा चिकित्सक पठाउन माग गरे ।

सोही पार्टीका रवीन्द्र अधिकारीले चाडवाड मान्न जन्मस्थान जान चाहनेले यातायातका साधन नपाइरहेको गुनासो गर्दै सरकारले सवारी साधनको प्रबन्ध मिलाउन सरकारसँग माग गरे । उनले सरकारले सुपथ मूल्य पसल खोलेर कालाबजारीलाई प्रश्रय दिइराखेको आरोपसमेत लगाए ।

नेकपा माओवादी केन्द्रका गणेशमान पुनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अझ प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयलाई सुझाव दिए ।    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विक्रम थापाले कालिमाटी–नागढुङ्गा सडक विस्तार गर्दा क्षति पुग्ने पीडितलाई क्षतिपूर्ति दिन माग गर्दै क्षतिपूर्ति नदिई सडक निर्माण नगर्न सरकारको ध्यानाकर्षण गराए ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालले हालै गर्नुभएको भारत भ्रमणका क्रममा भएका भेटघाटका विषयलाई धेरै नलम्ब्याउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसित आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्