सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिए संसद अवरुद्ध पार्ने कांग्रेसको चेतावनी


काठमाडौ, २० जेठ । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिए संसद अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चेतावनी दिएको छ । केपी ओली नेतृत्वको वाम गठबन्धनको सरकार गठन भएको तीन महिनाभित्र पटक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएकाले अन्य दैनिक उपभोग्य वस्तुको समेत मुल्यबृद्धि हुन पुगेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

प्रतिनिधिसभाको आइतबारको बैठकको प्रारम्भमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद अतहर कमाल मुसलमानले पेट्रोलियम पदार्थको मूल्यबृद्धिले यातायात क्षेत्रमा मात्र नभई बालीनाली भित्र्याउने र लगाउने बेला कृषकहरुलाई समेत मार परेको बताए । ‘नेपाली जनताको रगत चुसेर राज्यको ढुकुटी बढाउँदै गरेर सरकारले के गर्न खोजेको हो ? मूल्यबृद्धि फिर्ता नभए हामी सदन अवरुद्ध गर्छौँ’ उनले भने ।

सभामुख कृष्णबहादुर महराले मूल्यबृद्धिबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले शनिवार रातिदेखि लागुहुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलमा तीन रुपैयाको दरले मूल्य बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्