सरकारसँग सहमति भएपछि चिकित्सकले फिर्ता गरे आन्दोलनका कार्यक्रम


काठमाडौ, १९ भदौ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव र आन्दोलित नेपाल चिकित्सक संघबीच सोमबार राति ३ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो ।
३ बुँदे सहमतिमा मुलुकी अपराध संहिताको दफा २३० को उपदफा ३ खारेज गर्ने, परिच्छेद १९ मा रहेको सबै सजाय र दण्डबारे सम्बन्धित काउन्सिलको छानबिन समितिको प्रतिवदेनका आधारमा निर्णय गर्ने उल्लेख छ । त्यसैगरी उजुरीको म्याद ६ महिना राख्ने र ड्युटीमा रहेका बेला स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा गालीगलौज, हातपात, तोडफोड तथा आगजनी गर्नेलाई विना धरौटी हिरासतमा राख्ने सहमति पनि दुई पक्षबीच भएको छ । चिकित्सक संघ मुलुकी ऐन, मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४ का चिकित्सासम्बन्धी केही प्रावधानलाई तत्काल संशोधन गर्नुपर्ने माग राखेर केही समयदेखि आन्दोलित भइरहेको थियो । आइतबार मात्रै उसले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र र एप्रोन काउन्सिलमा बुझाएको थियो ।

तर सहमति भएपछि उसले आफ्ना घोषित आन्दोलनका कार्यक्रम १ साताका लागि स्थगन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्