सरकारी कार्यालय खुले पनि चहलपहल सुन्य


२८ असोज । आजदेखि सरकारी कार्यालयहरु खुले पनि दसैंको रमझम अझै बाँकी रहेकोले चहलपहल भने सुन्य देखिएको छ । दसैँको लामो बिदाका कारण एक हप्तादेखि सरकारी कार्यालयहरु बन्द थिए । दसैँ बिदापछि सरकारी तथा निजी कार्यालय खुले पनि शुक्रबार भएकाले कर्मचारीको उपस्थिति न्यून देखिएको हो ।

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा पनि कर्मचारीहरुको उपस्थिति न्यून रहेको छ । दसैँ बिदापछि पहिलो दिन भएकाले पनि कर्मचारीको चहलपहल कम भएको हुनसक्ने बताइन्छ । भोलि शनिबार दसैँको पूर्णिमा र सार्वजनिक बिदा परेकाले टाढा रहेका कर्मचारी तथा सेवाग्राही पनि फर्कने क्रममा रहेकाले सामान्य बन्न अझै एक दुई दिन लाग्ने बताइन्छ ।

तर, दसैँमा छ दिन बन्द रहेका सरकारी कार्यालय खुलेपछि कामकाजी सर्वसाधारणले केही राहत महसुस गरेका छन् ।

दसैँमा सुनसान बनेको उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ,। टीकाको दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्रु विभिन्न गन्तव्यबाट उपत्यका भित्रिरहेको बताइएको छ । उपत्यकामा सबैखाले सवारीसाधन बाक्लो रुपमा चलेका छन् । सर्वसाधारणको आवतजावत बाक्लो छ भने सडक, चोक गल्लीका पसल खुलेका छन् । उपत्यकाको सवारी आवागमन सामान्य रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्