सरकारी ताल : भ्याए जाँच, नभ्याए पास


विराटनगर, २८ फागुन । विराटनगरको रानी नाकामा केही दिनदेखि कोरोना भाइरस संक्रमण परीक्षणका लागि हेल्थ डेक्स राखिएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले मंगलबार हेल्थ डेस्कको सुरुवात गरेका थिए ।

सीमा नाका र हवाईमार्गबाट विराटनगर प्रवेश गर्नेको संक्रमण जाँच्न हेल्थ डेक्स स्थापना गरे पनि प्रभावकारी छैन । मन लागे हेल्थ डेक्समा जाने र परीक्षण गर्ने नलागे सरासर नेपाल प्रवेश गर्नेको संख्या नाकामा उच्च छ । स्वास्थ्यकर्मीको संख्या कम र उनीहरू आफैं पनि कोरोना सर्छ कि भनेर डराएका कारण परीक्षण प्रभावकारी छैन ।

नाकामा विराटनगर महानगरपालिकाले हेल्थ डेस्क राखेको हो भने विमानस्थलमा सामाजिक विकास मन्त्रालयले महानगर र नागरिक उड्डयन सँगको सहकार्यमा डेस्क राखेको छ ।

‘एकै पटक ठूलो भीड आउँछ, सबैलाई चेक गर्न पनि गाह्रै छ’, रानी भन्सारमा खटिएकी अहेव दिलमाया परियारले भनिन्, ‘हेल्थ डेस्क र स्वास्थ्यकर्मीको संख्या कम भयो ।’

विमानस्थलको बाहिरिने कक्षअघि डेस्क राखे पनि कोही हात धोएर डेस्क पछिबाट सरासर बाहिर निस्कने गरेको पाइन्छ । रानी नाकामा डेक्सका लागि दुई सिफ्टमा चार स्वास्थ्यकर्मीलाई जिम्मेवारी दिइएको छ । अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्