सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रबीच एकता हुन्छः पूर्वप्रधानमन्त्री खनाल


२ माघ । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताएका छन् । लमजुङ जिल्लाको सदरमुकाम बँेसीसहरमा आयोजित घले ल्होसार कार्यक्रममा खनालले भने– ‘आगामी फागुनको तेस्रो साताभित्र नयाँ सरकार गठन हुन्छ ।’

नेता खनालले संविधानकै प्रावधानका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको उल्लेख गर्दै सरकार गठनअघि एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता हुने बताए । ‘हामीले बनाएको संविधानले नै सरकार गठनमा ढिलाइ भएको छ’– खनालले भने, ‘संविधानमै रहेर फागुनको दोस्रो वा तेस्रो साताभित्र वाम नेतृत्वको सरकार बन्छ ।’

नेता खनालले लोकतन्त्र अझै कमजोर र कलिलो भएको भन्दै अब बन्ने सरकारले लोकतन्त्रलाई संस्थागत गर्न पहिलो प्राथमिकता दिने बताए । खनालले भने, ‘हामीले लामो संघर्ष गरेर ल्याएको लोकतन्त्र अझै कलिलो छ । अब बन्ने सरकारले सबैभन्दा पहिला लोकतन्त्रलाई बलियो र संस्थागत गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्