सरकार ढल्नुको कारण माग, ओलीले दिए आन्तरिक एकतामा जोड


४ साउन । एमाले नेतृत्वको सरकारका विरुद्ध कांग्रेस र माओवादीलेृ अविश्वास प्रस्ताव दर्ता गराएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको प्रतिवादका साथै भावी दिनमा पार्टीलाई अघि बढाउन आन्तरिक एकता मुख्य रहेको बताएका छन् । मंगलरबार सरकारी निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकमा ओलीले पहिलेभन्दा विशेष महत्व दिएर आन्तरिक एकतामा जोड दिएका थिए ।
अध्यक्ष अ‍ोलीको भनाइ थियो, ‘हामीले सरकारमा बसेर जे गरेका छौँ, यसबाट पार्टीको प्रतिष्ठा माथि उठेको छ, कार्यकर्ताको मनोबल बढेको छ । यस्तो बेलामा विपक्षीहरुबाट हामीमाथि हमला हुनु स्वाभाविक हो । त्यसैले हाम्रो पार्टीले एकताबद्ध भएर त्यसको सामना गर्नुपर्छ ।’

बैठकमा स्थायी समिति सदस्यहरुले आगामी निर्वाचनसम्म सँगै जाने भन्दै निर्माण भएको गठबन्धन किन भत्कियो भन्ने प्रश्न अध्यक्ष ओलीलाई गरेका थिए । स्थायी समितिका एक सदस्यका अनुसार, गठबन्धन बचाउन अध्यक्ष ओलीले आफैँले पर्याप्त पहल नगरेको र अरु शीर्ष नेताहरुलाई समेत यसमा सहभागी नगराएको भन्दै आलोचना भएको थियो ।

उपाध्यक्ष वामदेव गौतमले गत बैशाखको तेस्रो साता ढल्न लागेको सरकार जोगाउनका लागि आफूले भूमिका निर्वाह गरेको उल्लेख गर्दै त्यसबेला भएको सम्झौता पालना नगरेका कारण सरकार ढलेको बताए । उनको भनाइ थियो, ‘सरकार त्यतिबेलै ढल्ने थियो । नौ बुँदे सहमति भयो, तीन बुँदे भद्र सहमति भयो । बजेटपछि आवश्यक परे सरकारको नेतृत्व माओवादीलाई दिने भन्ने सहमति भएकै हो । तर, त्यसलगत्तै हाम्रै पार्टीका नेताहरुले संविधान पढाउन थाले, त्यहीँबाट समस्या सिर्जना भयो ।’

लोकतान्त्रिक छवि बचाउन जोड

ससद्बाट अविश्वास प्रस्ताव पारित भए पनि सरकार हट्दैन, अर्को सरकार नै बन्दैन भन्दै गरिएको प्रचारले एमालेको लोकतान्त्रिक छविमै धक्का लाग्नेतर्फ बैठकमा नेताहरुले कुरा उठाएका थिए । एक स्थायी समिति सदस्यले पहिलो न्युजसँग भने, ‘हामीले धेरै दुःख गरेर र खारिएर लोकतान्त्रिक छवि बनाएका छौँ र आज हाम्रो लोकतान्त्रिक निष्ठामाथि कसैले प्रश्न उठाउन सक्दैन । तर, संसद्मा बहुमत गुमाएपछि पनि सत्तामै बसिराखिन्छ भन्ने प्रचार प्रधानमन्त्री वरिपरि र वालुवाटारमा बसेका साथीहरुबाट आइरहेकाले त्यसतर्फ सचेत रहन बैठकमा कुरा उठेको छ ।’

‘नयाँ सरकार बन्दै बन्दैन’

बैठकमा उपप्रधानमन्त्री भीम रावलले अविश्वास प्रस्ताव पारित भए पनि कुनै हालतमा नयाँ सरकार बन्दै नबन्ने दलील पेस गरेका थिए । उनको भनाइ थियो, ‘नयाँ सरकार बन्ने व्यवस्था संविधानमा छैन, यही सरकार कायम रहन्छ र यसैले चुनाव गराउनुपर्छ ।’

अरु नेतालाई ‘बाइपास’ गरिएको गुनासो

बैठकमा यसअघि सम्पन्न केन्द्रीय कमिटीको र्बठकमा अध्यक्ष ओली आफैँले पेस गरेको प्रतिवेदनमा सरकार सञ्चालनका लागि पार्टीको संयन्त्र बनाउने भनिए पनि अहिलेसम्म कुनै संयन्त्र नबनाइएको कुरा उठेको थियो । सरकार ढल्न लाग्दा पनि पार्टीका शीर्ष नेताहरुलाई त्यसमा सहभागी नगराइनुको कारण मागिएको थियो । बरिष्ठ नेता झलनाथ खनालको भनाइ थियो, ‘हामी सबै एकताबद्ध भएर लागेको भए परिणाम अर्कै आउन सक्थ्यो । यसमा किन हाृे कर्सलाई सामेल गराइएन ।

अर्का बरिष्ष्ठ नेता माधवकुमार नेपालले सरकार ढल्ने अवस्थामा पनि वामपन्थी गठबन्धन बचाउन सकिन्थ्यो भन्दै त्यसका लागि व्यक्तिगत अहंकारले काम गरेको बताए ।

अविश्वास प्रस्तावको सामना गर्नेमा एकमत

कांग्रेस र माओवादीले संसद्मा अविश्वास प्रस्ताव दर्ता गरिसकेका कारण त्यसको एकताबद्ध रुपमा सामना गर्नेमा एमालेमा एकमत देखिएको छ । राजीनामा दिने बेला घर्किसकेको र त्यसो गरेको भए अझ राम्रो हुने थियो भन्दै नेताहरुले अविश्वास प्रस्तावको सामना गर्ने र पछि जे परिणामा आउँछ, सहजतापूर्वक सामना गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्