सरकार नालायक सावित भइसक्योः एमाले वरिष्ठ नेता नेपाल


१० माघ । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावको घोषणा नगर्ने वर्तमान सरकार नालायक भएको बताएका छन । प्रेस चौतारी नेपाल कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले भने, ‘यो सरकारले संविधान कार्यान्वयनमा गर्न छोडेर संशोधनको रडाको मच्चाइरहेको छ, यस्तो सरकार कसरी जनताको हुन्छ ?’

संविधान संशोधन कुनै हालतमा गर्न नदिने बताउँदै नेता नेपालले नेपाली जनताको शक्ति भनेको देशभक्तिको शक्ति भएको भन्दै राष्ट्र टुक्राटुक्रा पार्ने षड्यन्त्र विफल हुने दाबी गरे । राष्ट्रिय स्वाभिमानलाई बन्धक राख्ने कार्यमा लाग्नेहरु स्वतः समाप्त हुने बताउँदै आम राष्ट्रवादी जनतालाई सचेत हुन आग्रह गर्न एमालेले चार महिने अभियान चलाएको पनि बताए ।

प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष रामजी लम्साल र सञ्चालन सहसचिव मोतिसागर अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्