सरकार निरंकुश बन्यो, घुँडा टेकाएरै छोड्छौँः विष्णु पौडेल


१६ पुस । नेकपा (एमाले) उप–महासचिव विष्णु पौडेलले एमालेको अगुवाईमा नौ दलले पुस २२ मा आयोजना गरेको  संयुक्त जनप्रदर्शनले सरकारलाई घुँडा टेकाएरै छोड्ने चेतावनी दिएका छन् ।

नेकपा (एमाले)  जिल्ला कमिटी ललितपुरले लगनखेलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  पौडेलले यस्तो चेनावनी दिएका हुन् ।  उनले पुस  २२ को जनप्रदर्शनपछि प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधन विधेयक फिर्ता लिन बाध्य हुने दाबी गरे । ‘संसदमा कुनै हालतमा संशोधन प्रस्तावलाई प्रक्रियामा लैजान दिदैँनौँ,’ उनले भने, ‘असंवैधानिक बाटोमा हिँडेको सरकारलाई सही बाटोमा ल्याउन हामीसँग जनप्रदर्शनको विकल्प छैन ।’

सर्बोच्चमा विचाराधीन फैसला र संविधानको व्यवस्थाविरुद्धमा सरकार निरंकुश शैलीमा अगाडि बढेर जनताको अधिकार खेस्ने प्रयास सरकारले गरेको उनको आरोप थियो ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोलिटव्युरो सदस्य महेन्द्र पाण्डेले मुलुकको सार्वभौमसत्ता गुम्न लागेको बेला सडकमा उत्रनुको अर्को विकल्प नभएको बताए । एमाले जिल्ला कमिटी ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले पाटनका जनताले अत्याचारका विरुद्धमा पटक–पटक कुर्वानी गरेको स्मरण गर्दै लोकतन्त्र र राष्ट्रियता जोगाउन दशौं हजारको सहभागीमा प्रदर्शनमा जनता उतारेर सरकारको निरंकुशतालाई नाङ्गेझार पार्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्