‘सरकार भारतसँग लम्पसार परेको’ भन्दै एमालेले दियो १२ उदाहरण


८ पुस । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले सरकारका क्रियाकलापबाट नेपालको परराष्ट्र नीतिमै समस्या देखा परेको बताएको छ । शुक्रबार संसद्मा विशेष समय लिएर बोल्दै एमाले उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले नेपालको अहित हुने गरी काम गरेको भन्दै १२ वटा उदाहरण पेस गरेका छन् ।

उपाध्यक्ष रावलले संसद्मा विशेष समय लिएर बोल्नुअघि संसदीय दलको कार्यालयमा बसी के विषयमा बोल्ने भन्नेबारेमा छलफल भएको थियो । त्यही आधारमा रावलले संसद्मा कुरा रोखका थिए । सरकारको परराष्ट्र नीतिमा सन्तुलनभन्दा भारततर्फ लम्पसार परेको टिप्पणी भइरहेको बेला प्रमुख प्रतिपक्षी दलको यो धारणा सार्वजनिक भएको हो ।

एमालेले राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीतिविपरीत वर्तमान सरकारबाट भएका कामहरु यसरी औंल्याएको छः

१. नेपालको अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँमा भारतीय हवाई मार्सल राख्ने दिशामा सरकार अग्रसर भएको समाचार प्रकाशित भएका छन् । यस्तो कार्य नगर्न नेपाली जनताले बारम्बार आवाज उठाएका छन् । तर, सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।

२. हालै सी.के.राउतलगायतले स्वतन्त्र मधेश राष्ट्र भनी व्यापक अभियान चलाउँदा र खुला सभा गर्दासर कार रमिते बनेको छ ।

३. एउटा संचारमाध्यमलाई अन्तरवार्ता दिदै एकजना बरिष्ठ भारतीय नेताले संविधान संशोधनका साथै “मधेशीलाई भारतीय ठान्ने गरिएको, नेपालमा सबै जनतालाई न्याय हुनुपर्ने र सबै प्रान्तले संविधान मेरो हो भन्ने ठान्नु पर्ने” जस्ता कुरा गरेर नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेपकारी अभिव्यक्ति दिएका छन् । तर, सरकार मौन छ ।

४. प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका बेला संयुक्त वक्तव्यमा नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरीतका कुरामा हस्ताक्षर गरेका छन् ।

५. गोवा भ्रमणका बेला त्रिपक्षीय सहमति भयो भनेको कुराको भारतीय विदेश मन्त्रालयले खण्डन गरेको छ । यसबाट नेपालको विश्वसनीयतामा प्रश्न उब्जेको छ ।

६. परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाल र चीनका बीच संयुक्त सैनिक अभ्यास किन गर्ने भनी पत्रकार सम्मेलनमा बोलेका छन् ।

७. मंगोलियासंगको सम्बन्धमा समस्या उत्पन्न भएको बेला मित्र राष्ट्र चीनलाई चिढाउने गरी काम गरिएको छ ।

८. नेपाल र भारतका बीच सहमतिका साथ गठित प्रबुद्ध व्यक्ति समुहलाई काम गर्न दिइएको छैन ।

९. आर्ट ग्यालरी, बबरमहलमा आयोजित कार्यक्रममा ताइवानको झण्डा राखिएको छ ।

१०. नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष रहेको बेला शिखर सम्मेलनका लागि प्रयास गर्नुको साटो दिल्लीमा रहेका नेपाली राजदूतले सार्कको औचित्यमाथि प्रश्न उठाएका छन् ।

११. सिरियामा मानवाधिकारका सम्बन्धमा संयुक्त राष्ट्र संघ प्रणालीमा भएको मतदानमा नेपालको स्वतन्त्र अडान राखिएन ।

१२. नेपालको सर्वोपरी हितमा काम–कुरा गरेवापत विपक्षी दल र त्यसका नेतालाई दुराशयपूर्ण किमिसले भारत विरोधी र चीन समर्थक भनी प्रचार गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्