सरकार मजदुरहरुको ज्याला वृद्धि गर्ने तयारीमा छः प्रधानमन्त्री


काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मजदुरहरुको न्यूनतम ज्याला वृद्धि गर्ने योजनामा रहेको बताएका छन् । मजदुर दिवशका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधामन्त्री ओलीले सरकार मजदुरहरुको ज्याला वृद्धि गर्ने योजनामा रहेको बताएका हुन् ।

श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्रीले सरकारले उचित ज्याला प्रणाली अन्तर्गत मर्यादित कामको सुनिश्चितता कायम गर्नका लागि न्यूनतम ज्यालामा वृद्धि तयारीमा रहेको प्रष्ट्याएका छन् ।

मजदूर दिवसको उपलक्ष्यमा दिइएको सन्देशमा प्रधानमन्त्रीले प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जनलगायतका आधारभूत हकअधिकारको स्मरण गराउँदै आएको बताएका छन् ।
नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका बताउँदै प्रधानमन्त्रीले नेपालको राजनीतिमा युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पु¥याएको योगदानप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

‘अहिलेसम्म देशभित्र श्रमको उचित ढंगले सदुपयोग र सम्मान गर्ने वातावरणको अभाव रहेका कारण ठूलो संख्यामा युवा जनशक्ति श्रमका लागि मुलुकबाट बाहिरिन बाध्य छ, श्रम शोषणको शिकार हुन विवश छ । रोजगारीका लागि ज्यानको समेत जोखिम मोलेर बिरानो भूमिमा कठिन र कष्टकर श्रममा समेत संलग्न हुन बाध्य नेपाली युवा श्रमिकको अवस्थाप्रति सरकार सम्वेदनशील छ, प्रधानमन्त्रीले भनेका छन्,‘ त्यसैले सक्रिय युवा जनशक्तिको ज्ञान, सीप र ऊर्जालाई सम्पूर्ण रूपमा देशको विकास र निर्माणका निम्ति सदुपयोग गर्ने वातावरण सिर्जना गर्न सरकारले आफ्नो ध्यान केन्द्रित गर्न थालिसकेको र सरकार स्वदेशमै आत्मसम्मानपूर्ण श्रम वातावरण र जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्दै लैजान कटिबद्ध छ ।’

प्रतिक्रिया दिनुहोस्