सर्वोच्च शिखर अझै उँचो


काठमाडौं, २४ मंसिर । ०७२ को भूकम्पले हाम्रा भौतिक संरचना मात्र भत्काएको थिएन, आत्मविश्वास पनि हल्लाई दिएको थियो । भूकम्पका असरबारे अनेक भ्रम र अनेक अनुमान आएका थिए । विश्वको सर्वोच्च ताज सगरमाथाको उचाइ पनि तलमाथि परेको हुन सक्छ– राष्ट्रिय–अन्तर्राष्ट्रिय सरोकारवालाहरूको अनुमान थियो ।

‘सगरमाथाको उचाइबारे नयाँ–पुराना अनुमानलाई सम्बोधन गर्न नापी गर्नुपर्छ,’ नापी विभागका उपसचिव खिमलाल गौतमले सरकारसँग प्रस्ताव राखे, ‘नापी टोलीको नेतृत्व गर्न तयार छु ।’ सगरमाथाको उचाइ मापन गर्न चुचुरोसम्म आरोहण गर्नुपर्ने थियो ।

अस्ट्रियाबाट जिओम्याट्रिक्सबाट मास्टर डिग्री गरेका गौतमका लागि आरोहण पनि नौलो थिएन । सन् २०११ नेपालले पर्यटन वर्ष मनाउँदा मुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा निजामती कर्मचारीहरूको आरोहण दलमा सहभागी थिए उनी ।

गौतमसँगै नापीमा जान तयार भए विभागका इन्जिनियर रविन कार्की । उनीहरूलार्ई सरकारले पत्यायो । ‘सगरमाथाको उचाइ मापन हुनुपर्छ, शिखरसम्म पुग्न आफैँ तयार छु भनेर गौतम सरले भनेपछि विभागलाई धेरै सजिलो भयो,’ नापी विभागका प्रवक्ता दामोदर ढकाल भन्छन, ‘उहाँको साहसलाई कदर गर्दै सरकारले तयारी गर्‍यो ।’

गौतम र कार्कीसँगै सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल तथा नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङजाङ्बु शेर्पा आरोहणको तयारीमा जुटे । करिब एक वर्षको प्रशिक्षण र तयारीपछि २७ चैत ०७५ मा आरोहण दल अघि बढेको थियो । मौसमले साथ नदिँदा क्याम्प १ र क्याम्प २ मा तल र माथि गर्न बाध्य भएको आरोहण टोली आफ्नो उद्देश्यमा भने अविचलित थियो । अन्ततः काठमाडौंबाट हिँडेको ४१ दिनपछि ८ जेठ ०७६ को बिहान ३ः१५ मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगे उनीहरू ।

भनिन्छ, चुचुरोमा चढ्नभन्दा अडिन गाह्रो हुन्छ । अझ, नापीको टोलीलाई चुचुरोमा तस्बिर खिचेर मात्र फर्कने सुविधा थिएन । ‘अडिन धेरै नै गाह्रो थियो, तर हामीले त्यहाँ करिब एक घन्टा १६ मिनेट मापनसम्बन्धी काम गर्‍यौँ, समग्रमा करिब दुई घन्टा माथि बितायौँ,’ गौतम भन्छन् ।
सगरमाथाको नाप लिने क्रममा आरोहण दलका सदस्य नापी विभागका उपसचिव खिमलाल गौतम र अधिकृत रविन कार्की । तथ्यांक संकलनका क्रममा सगरमाथाको चुचुरोमा १ घन्टा १६ मिनेटसम्म बसेको गौतमले जानकारी दिए ।

तर, समिट फत्ते गरेर फर्कने वेला भने उनीहरू अनेक समस्यामा परे । ‘दुवै जनालाई समस्या हुन थाल्यो, रविन कार्कीजीको अक्सिजन कम भएर त बेहोस नै हुनुभयो,’ गौतमले भन्छन्, ‘तर, शेर्पा साथीहरूको सहयोगमा उद्धार भयो । क्याम्प २ बाट हामी दुवैजनालाई उद्धार गरेर काठमाडौं ल्याइयो ।’

तर, रविनले त नयाँ जीवन नै पाएको गौतमको भनाइ छ । तर, उनले पनि आफ्नो देब्रे खुट्टाको बुढीऔँलो गुमिसकेको काठमाडौं आएपछि मात्र थाहा पाए । ‘उपचारका लागि भारत जानुप¥यो, औँला काटियो, अहिले कपास कोचेर मात्र जुत्ता लगाउनुपर्छ,’ गौतमले भने ।

नेपाल सरकारले गौतम र कार्कीलाई १०–१० लाख रुपैयाँ सम्मानस्वरूप दिने घोषणा समेत गरेको छ । तर, हालसम्म उनीहरूले सो रकम प्राप्त गर्न भने सकेका छैनन् । असाधारण जोखिम उठाएर भए पनि उनीहरूले देश र दुनियाँका लागि भने ठूलो उपचार लिएर आएका थिए । हो, उनीहरूले ल्याएको तथ्यांकअनुसार विश्वको सर्वोच्च शिखर अझै उचो भएको छ ।

सगरमाथाको नयाँ उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर कायम भएको छ । नेपाल र चीनले छुट्टाछुट्टै मापन गरेर मंगलबार संयुक्त रूपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । विश्वकै अग्लो शिखर सगरमाथाको उचाइ विगतमा मानिएको आठ हजार आठ सय ४८ मिटरभन्दा ८६ सेन्टिमिटर बढी कायम भएको छ ।

नेपालले आफ्नै जनशक्ति र प्रविधि प्रयोग गरेर पहिलोपटक सगरमाथाको उचाइ मापन गरेको छ । उता चीनले पनि सोही समयमा सगमारथाको नापी गरेको थियो । दुवै पक्षले गरेको नापीमा एउटै उचाइ मापन भएको हो ।

मंगलबार नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका तर्फबाट चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त रूपमा सगरमाथा (चोमोलोङ्मा)को नयाँ उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर घोषणा गरेका हुन् । घोषणा कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश पढेका थिए भने चीनका तर्फबाट चिनियाँ विदेशमन्त्री यीले चिनियाँ राष्ट्रपति सी जिनपिङको सन्देश पढेर सुनाएका थिए ।

नेपाल र नेपालीलाई विश्वमा चिनाउने सगरमाथाको उचाइ आफैले भने अहिलेसम्म नापेको थिएन । सन् १९५४ मा ‘सर्भे अफ इन्डिया’ले पहिलोपटक सगरमाथाको उचाइ नापेको थियो । पछि विभिन्न समयमा सगरमाथाको नाप लिइए पनि अधिकारिक भने सोहीलाई लिँदै आइएको थियो ।

नेपालले सन् २०१८ देखि सगरमाथाको नापसम्बन्धी सर्वेक्षण सुरु गरेको थियो । नापी विभागले नेतृत्व गरेको सगरमाथा नापी अभियानमा तीन दर्जनभन्दा बढी जनशक्ति परिचालन गरिएको थियो । सगरमाथा नापी सचिवालय संयोजक सुशील डंगोलका दुई आर्थिक वर्षमा नापी कार्यक्रमका लागि १७ करोड रुपैयाँ विनियोजन गरिएको थियो । नापी विभागका प्राविधिक कर्मचारीको टोलीले सर्वोच्च शिखर सगरमाथाको आरोहण तथा फिल्ड सर्वेक्षणका माध्यमबाट प्राप्त तथ्यांकलाई प्रयोगशालाबाट प्रशोधन गरी नयाँ उचाइ निकालेका थिए ।

नेपालले यसअघि नै सगरमाथाको नयाँ उचाइ घोषणाको तयारी गरे पनि चीनले संयुक्त रूपमा घोषणा गर्ने प्रस्ताव गरेपछि त्यसमा सहमति जनाएको थियो । चीनले नेपालभन्दा पनि सगरमाथाको उचाइ नापेको हो ।

गत वर्ष चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । नेपाल र चीनका प्राविधिकद्वारा तथ्यांक प्रशोधन गरी निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गरिएको हो । गत १० मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले उचाइ घोषणाको स्वीकृति दिएको थियो ।

कसरी नापियो सगरमाथा ?

हालसम्म अन्तर्राष्ट्रिय रूपमा आधिकारिक रूपमा प्रयोग गरिने सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटर उचाइ भारतले सन् १९५४ मा गरेको मापनले पत्ता लगाएको हो । भारतीय सर्भे विभागका बिएल गुलाती नेतृत्वको टोलीले सन् १९५२ देखि १९५४ सम्मको अवधिमा गरेको सगरमाथाको उचाइ मापनका आधारमा पत्ता लागेको आठ हजार आठ सय ४८ मिटरलाई नेपाल, भारतसहित विश्वले नै मान्यता दिँदै आएको थियो ।

भारतले त्यसअघि नै सन् १८४७ मा गरेको मापनमा सगरमाथाको उचाइ आठ हजार सात सय ७८ र सन् १८५० मा गरेको मापनमा आठ हजार आठ सय ४० मिटर भएको उल्लेख गरेको थियो । सर्भे अफ इन्डियाका अनुसार सन् १८८० र १९०२ को अध्ययनमा सगरमाथाको उचाइ आठ हजार आठ सय ८२ मिटर भएको उल्लेख गरेको थियो ।

सन् १९६६ देखि सन् १९६८ मा चीनले सगरमाथा मापन गर्दा आठ हजार आठ सय ५० मिटर देखिएको जनाएको थियो । चीनले सन् २००५ मा गरेको मापनमा भने आठ हजार हजार आठ सय ४४ दशमलव ४३ मिटर आएको भन्दै त्यसैलाई मान्यता दिँदै आएको थियो । उसले आरोहीलाई पनि आठ हजार आठ सय ४४ दशमलव ४३ मिटर उचाइको प्रमाणपत्र जारी गर्ने गरेको थियो ।

अमेरिकाले सन् १९९९ मा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) र राडार प्रविधि प्रयोग गरेर सगरमाथाको उचाइ आठ हजार आठ सय ५० मिटर रहेको जनाएको थियो ।

सन् १९८७, १९९२ र २००४ मा गरी इटालीले तीन पटक र २०१० मा डेनमार्कले समेत सगरमाथाको उचाइ मापन गरेका थिए । ती सबै मापनमा फरक–फरक उचाइ गणना गरेका थिए । तर, ती कुनै पनि उचाइलाई नेपालले आधिकारिकता दिएको थिएन । ०७२ को भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ भएको हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा चर्चा चलेपछि नेपालले आफ्नै स्रोतको उपयोग गरेर नापी गर्ने घोषणा गरेको थियो ।

उचाइ नाप्न फरक–फरक विधिको प्रयोग गरिन्छ । नेपालले मिश्रित विधि प्रयोग गरेको थियो । परम्परागत विधिअन्तर्गत समुद्री सतहबाट स्केलले नाप्दै जमिनकै बाटो हुँदै शिखरसम्म पुग्ने गरिन्छ । नेपालको समुद्री पहुँच नभएकाले सिराहाको माडर उचाइ मापनको प्रारम्भिक बिन्दु मानिएको थियो ।

माडरदेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको पातलेडाँडासम्म एक सय ७० किलोमिटर दूरीको उचाइ नाप्ने काम गरिएको थियो । यो विधिबाट सगरमाथाको चुचुरोसम्म नाप्न भौगोलिक बनावटले समस्या सिर्जना गरेपछि नापीको टोलीले प्रविधिको प्रयोग गरेको थियो । नाप्ने क्रममा प्राविधिकहरूले दर्जनौँ डाँडामा उचाइ नाप्ने ‘थियोडोलाइट’ यन्त्र जडान गरेका थिए । सोही यन्त्रबाट ती डाँडाहरूबाट सगरमाथा चुचुरोको कोण र दूरी निकालिएको डंगोलले जानकारी दिए ।

नेपालले ‘ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टम’ (जिएनएसएस) विधिको प्रयोग गरेर उचाइको नाप लिइएको थियो । यस कार्यका लागि नापी विभागले दुई सय ८५ वटा बिन्दुलाई प्रयोगमा ल्याएको थियो । विभागले नापको क्रममा सवै बिन्दुमा यन्त्र राखेपछि स्याटेलाइट तथ्यांकका आधारमा अक्षांश, देशान्तर र उचाइ प्राप्त भएको थियो । उचाइ नाप्ने प्रक्रियामा उचाइलाई गुरुत्वाकर्षणले पनि फरक पार्ने भएकाले यन्त्र राखिएका सबै बिन्दुमा गुरुत्वाकर्षण सर्भे समेत गरिएको संयोजक डंगोलले बताए ।

उचाइ मापनका क्रममा जलवायुको समेत तथ्यांक लिनुपर्ने हुन्छ । त्यसो हुँदा मापनका क्रममा टोलीले हावाको चाप, तापक्रम तथा मौसमको समेत तथ्यांक निकालेको थियो । सबै प्रक्रियाको क्रममा सिम्रिक हेलिकोप्टरमा क्यामेरा जडान गरेर सगरमाथा क्षेत्रको लाइडर सर्भे गरिएको थियो । ‘क्यामेराले फाल्ने प्रकाशको आधारमा उचाइको तथ्यांक निस्कन्छ,’ डंगोलले भने ।

फरक–फरक विधिबाट तथ्यांक संकलन गरेपछि काठमाडौंमा प्रशोधन गरेर वास्तविक उचाइ निकालिएको संयोजक डांगोलले जानकारी दिए । चीन र नेपाली टोली दुवैले फरक–फरक विधिबाट निकालेको तथ्यांकलाई संयुक्त प्रशोधन गरिएको थियो । ‘सबै प्रशोधनपछि सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको पाइएको हो,’ डंगोलले भने ।

देशको नयाँ नक्सा जारी गरेपछि अर्को यो उपलब्धि : प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

नेपालीका निम्ति यो गौरवपूर्ण दिन हो । सगरमाथाको नयाँ उचाइ घोषणा भएको छ । यो नेपालको जनशक्ति र साधनस्रोतबाट मापन प्रशोधन गरेर अन्तिम रूप दिएको छ । यसले नेपालीको प्राविधिक क्षमताको समेत नयाँ उचाइ घोषणा भएको छ ।

यसले तथ्य मात्र सार्वजनिक भएको छैन यसले संयुक्त रूपमा घोषणा गरेर सार्वजनिक गरेर विश्वलाई नयाँ तथ्यले पुरानो भ्रमको अन्त्य गरेको छ । नेपाल सरकारले यस वर्ष गरेको दुई काम महत्वपूर्ण रहेको छ । पहिलो नेपालको नयाँ नक्सा र दोस्रो सगरमाथाको उचाइको नयाँ मापन गरेर नयाँ इतिहास कायम गरिएको छ ।

अब हामीलाई चुनौती भनेको हिमालय क्षेत्रको पर्यावरण रक्षा गर्नु हो । यसका लागि नेपाल र चीनले संयुक्त रूपमा काम गर्न आवश्यक छ । जलवायु परिवर्तनको असर रोक्न सकेनौँ भने हिमालको पानीमा आश्रित दुई अर्बभन्दा बढी मानिस स्वच्छ खानेपानीबाट वाञ्चित हुनेछन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्