सहमतिका साथ सन्तुलित निर्णय, एकताबद्ध भएर पहिलो पार्टी बन्ने संकल्प


७ भदौ । सरकारबाट बाहिरिएपछि दोस्रो ठूलो दल नेकपा (एमाले) ले एकताबद्ध रुपमा पार्टी संगठन निर्माणमा ध्यान केन्द्रित गरेको छ । मंगलबार स्थायी समिति बैठकले सात प्रदेशमा पार्टीका तर्फबाट संयोजक र सहसंयोजक सर्वसम्मत रुपमा चयन गरेर सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्ने संकल्प गरेको छ ।

सरकारमा हुँदा नेताहरुबीच अलिअलि विवाद देखिनु, सत्तामा भएकाले वास्ता नगर्नु र सत्ताबाहिर भएकाले हेपिएको महसुस गर्नु पुरानै रोग हो । त्यही रोगले केही समययता एमाले असहज जस्तो अवस्था देखिएको थियो । तर, गत साउन ३० गतेदेखि नौ दिनसम्म चलेको स्थायी समिति बैठकमा नेताहरुले मन माझामाझ गरेर एउटै निष्कर्ष निकालेका छन्– अब एकताबद्ध रुपमा निर्वाचनको तयारीमा लाग्ने ।
त्यसका लागि एमालेले प्रदेश कमिटी गठनमा सर्वसम्मत्ति कायम गरेको छ । आइतबार स्थायी समितिको बैठकमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्ना लागि अब गुटबन्दी आवश्यक नरहेको भन्दै पार्टीलाई पहिलो स्थानमा पुरयाउनेबाहेकका सबै कुरा गौण गरेको भावुक मन्तव्य दिएका थिए ।

त्यसअघि बोल्ने बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले माओवादीसँगको समीकरण बचाउन सकिने आधारहरु रहँदारहँदै अध्यक्ष ओलीले समीकरण बचाउन पहल नगरेको भनेर गरेको आलोचनाको पनि अध्यक्ष ओलीले खासै प्रतिवाद गरेनन् । स्थायी समितिका एक सदस्यले भने, ‘त्यस्तो सम्भावना थियो होला, पूरै नकार्न सकिन्न । तर, त्यसैमा अल्झिएर बस्ने भन्दा पनि अब कसरी जाने भन्नेमा बढी ध्यान केन्द्रित गर्नुपर्ने उहाँको जोड थियो ।’

किन लम्बियो बैठक ?

एमालेका बैठकमा पर्याप्त छलफल हुन नसकेको गुनासो ती बैठककै सहभागीहरुले गर्दै आएका थिए । प्रधानमन्त्री भएपछि अध्यक्ष ओलीले बालुवाटारमा आयोजना गरिएका बैठकहरु छोटा हुन्थे । एक त ओलीले सबै कुरा कमिटीमा छलफल गराउन नचाहेको हुन सक्छ भने अर्को प्रधानमन्त्रीका हैसियतले विविध काममा व्यस्त रहनुपर्ने कारण पनि थियो । त्यही भएर यसपटक जति मन लाग्छ, नेताहरुलाई बोल्न दिने योजना बनेको थियो । स्थायी समितिका अर्का सदस्यले भने, ‘दोस्रो दिनका बैठकमा अध्यक्षले राष्ट्रिय राजनीतिका बारेमा एकीकृत धारणा बनाऔँ, पार्टीका आन्तरिक विषयमा कतै साँझ बाहिरै बस्ने गरी गएर टुंग्याऔँ भन्ने धारणा थियो । तर, धेरै नेताहरुले लामो समय बोल्ने इच्छा गरेका कारण पछि जति दिन लम्बिन्छ, यहीँ बैठक गरौँ भन्ने भयो ।’

सन्तुलित कार्यविभाजन

पहिलो पटक प्रदेश कमिटी बन्न लागेको, त्यो कमिटी कार्यकारी हुने र त्यसैले प्रादेशिक अधिवेशन समेत गर्ने भएका कारण एमालेमा प्रदेश कमिटीको नेतृत्व चयनलाई महत्वका साथ हेरिएको थियो । अध्यक्ष ओली र बरिष्ठ नेता माधव नेपाल पक्षले आ–आफ्ना पक्षधरलाई संयोजक बनाउन जोड गरेका समाचारहरु सार्वजनिक भएका थिए । तर, बैठकको निर्णय हेर्दा त्यसरी गुटबन्दीका आधारमा निर्णय भएन । जस्तो, सातवटा प्रदेशका संयोजकमध्ये दुई नम्बर प्रदेशका सत्यनारायण मण्डल र पाँच नम्बर प्रदेशका विष्णुप्रसाद पौडेल अध्यक्ष ओली निकट छन् । एक नम्बर प्रदेशका संयोजक भीमप्रसाद आचार्य, तीन नम्बर प्रदेशका संयोजक अष्टलक्ष्मी शाक्य, छ नम्बर प्रदेशका संयोजक युवराज ज्ञवाली र सात नम्बर प्रदेशका संयोजक भीमबहादुर रावल बरिष्ठ नेता नेपाल पक्षधर छन् भने चार नम्बर प्रदेशका संयोजक किरण गुरुङ उपाध्यक्ष वामदेव गौतम निकट छन् ।

सहसंयोजकमा पनि सन्तुलन कायम गरिएको छ । एक समूहसँग निकट संयोजक भएको ठाउँमा त्यसलाई सन्तुलन गर्ने गरी अर्को समूह निकटलाई सहसंयोजक बनाइएको छ । एक नम्बरका सहसंयोजक शेरधन राई, दुई नम्बरका नागेन्द्र चौधरी, तीन नम्बरका काशीनाथ अधिकारी, चार नम्बरका गणेश तिमिल्सेना, पाँच नम्बरका दलबहादुर राना, छ नम्बरका यामलाल कँडेल र सात नम्बरका कर्णबहादुर थापा छन् ।9999j

एक स्थायी समिति सदस्यले भने, ‘यसलाई भागबन्डा भन्नुभन्दा पनि यथार्थ अनुरुप गरिएको निर्णयका रुपमा हेर्नुपर्छ ।’

गुटबन्दीमा नलाग्ने संकल्प, प्यानलगत चुनाब बन्द गर्ने

संसारमै सायद गुट नभएका पार्टी पाउन मुश्किलै होला । महाधिवेशनमै दुई प्यानलमा चुनाव भएको एमाले जस्तो लोकतान्त्रिक पार्टीमा छ त्यो छैन भनेर लुकाउन सकिने कुरा पनि भएन । तर, त्यसलाई व्यवस्थित गर्न र पार्टीको दैनिक जीवनमा त्यसले प्रभाव नपारोस् भन्नेमा एमाले नेताहरु सचेत देखिएका छन् । आइतबार संकल्प प्रस्ताव पारित गर्दै एमालेका नेताहरुले प्यानलका आधारमा चुनाव गर्ने प्रणाली अन्त गर्ने घोषणा नै गरेका छन् । यसबाट एमालेको मुख चुनावतिर फर्किएको र सानातिना विवादलाई थाँती राखेर त्यता दौडिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्