सहमतिको मस्यौदा तयार, मापदण्डबाट एकीकृत पार्टीको केन्द्रीय कमिटी बन्दै


काठमाडौं, २३ वैशाख । बहुप्रतिक्षित पार्टी एकतालाई अन्तिम रुप दिँदै एमाले र माओवादी केन्द्र पार्टी विघटनको अन्तिम तयारीमा जुटेका छन् । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच एकीकृत पार्टीको केन्द्रीय कमिटीको संरचनालाई अन्तिम रुप दिइएपछि पार्टी एकताको मिति घोषणा गर्ने र दुवै पार्टी विघटन गर्ने सहमति भएको हो ।
२० वैशाखमा ओली र प्रचण्डबीच लगातार दुई पटक भएको वार्तासँगै चार बुँदे सहमतिको प्रारुपसमेत तयार भइसकेको प्रचण्ड निकट स्रोतले बताएको छ । त्यसअनुसार एकीकृत पार्टीको केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय या ३ सय ५० सदस्यीयसम्मको एकीकृत पार्टीको केन्द्रीय कमिटी बनाउने समझदारी भएको छ । तर, दुवै पार्टी विघटनसँगै प्रतिशतको आधारमा नभएर निश्चित मापदण्डका आधारमा केन्द्रीय कमिटीमा व्यक्तिहरुको छनौट गरिने दुई अध्यक्षको समझदारी छ । ‘पार्टी एकताका सन्दर्भमा सांगठनिक एकीकरण प्रतिशतका आधारमा होइन, विधि, प्रक्रिया र मापदण्डका आधारमा गर्ने सहमति भएको छ’, प्रचण्ड निकट स्रोतले पहिलोन्यूजलाई भन्यो,‘उहाँ पोखराबाट फर्किने बितिक्कै प्रधानमन्त्रीसँग सल्लाह गरेर पार्टी एकता संयोजन समितिको बैठक बोलाइनेछ र सहमतिलाई अन्तिम रुप दिइनेछ ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सार्बजनिक कार्यक्रममै दुई÷तीन दिनयता दुवै पार्टी विघटनको अन्तिम तयारी भइरहेको र एकताका विषयमा सबै विषय टुंगो लागिसकेको बताउँदै आएका छन् । एकताका विषयमा सबै विषय टुंगो लागिसके पनि दुवै पार्टीका नेताहरुले अध्यक्षबीचको सहमतिबारे अनविज्ञता प्रकट गर्दै आएका छन् । एकीकृत पार्टीले सूर्य चिन्ह् प्रयोग गर्ने र विधानको प्रस्तावनामा माओवादी केन्द्रको जनयुद्धको भूमिका उल्लेख गर्ने विषयमा सहमति जुटिसकेको छ ।
एक÷दुई दिनमै एकताको मिति घोषणाको तयारी
प्रधानमन्त्री र प्रचण्डबीच एकताका विषयमा सबै सहमति भइसकेकाले एक÷दुई दिनमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकबाट एकता घोषणासभाको मिति सार्बजनिक गरिने भएको छ । यसबीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका कारण संसद बैठक र भ्रमण तयारीमा समय खर्च हुने भएकाले त्यसपछि मात्र एकता घोषणासभा हुनसक्ने एकताको काममा सकृय एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्