सहमतिमै २०७४ माघसम्ममा तीन तहको निर्वाचन हुन्छः प्रचण्ड

१२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसंँअघि नै संविधान संशोधनको प्रस्तावको तयारीमा सरकार लागेको बताएका छन् ।
प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । यस विषयमा प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल भइरहेको पनि उनले बताए ।
संविधान कार्यान्वयन र संशोधन सँगसँगै अघि बढ्ने कुरा मधेसवादी दललाई आफूले जानकारी गराएको पनि उनले बताए ।
इलाकालाई आधार मानेर स्थानीय निकायको गठन गर्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेसँगै स्थानीय निकायको निर्वाचनका लागि सहज भएको पनि उनको भनाई थियो ।
चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन गर्नपर्ने भन्दै त्यसका लागि युद्धस्तरमा काम गरिने उनले बताए । दलहरुको सहमतिमै २०७४ माघसम्ममा तीन तहको निर्वाचन गर्नका लागि सरकार लागिपरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । टिकापुर घटनाका आरोपीलाई कारबाही फुकुवा गर्ने विषयमा छलफल मात्रै भइरहेको पनि उनले बताए ।