सहमतीय सरकार गठन गर्न राष्ट्रपतिको आह्वान


१० साउन । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत गरेकी राष्ट्रपति विद्या भण्डारीले त्यसको भोलिपल्ट सहमतीय सरकार गठन गर्न आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले संसदमा रहेका राजनीतिक दलहरुलाई यस्तो आह्वान गरेकी हुन् ।

सोमबार जारी विज्ञप्तिमा संविधानको धारा २९८ को उपधारा २ अनुसार सात दिनभित्र सहमतीय सरकार गठनको आह्वान गरिएको छ । भण्डारीले सोमबार नै बदलिँदो राजनीतिक परिस्थितिका बारेमा परामर्श गर्न प्रमुख तीन दलका शीर्ष नेतालाई बोलाएकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका सम्बन्धमा छलफल गर्न राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष ओली र नेकपा (माओवादी-केन्द्र)का अध्यक्ष प्रचण्डलाई बोलाएकी थिइन् । छलफलपछि उनले सहमतीय सरकार गठन गर्न आह्वान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्