सहयोग गर्न राप्रपा नेपाललाई माओवादी केन्द्रको आग्रह


१६ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा अध्यक्ष दाहालले नयाँ सरकार गठन प्रक्रियामा सहयोग गर्न अध्यक्ष थापालाई आग्रह गरेका थिए ।
अध्यक्ष दाहालको आग्रहलाई सकारात्मक रुपमा लिँदै अध्यक्ष थापाले पार्टीमा छलफल गरेर उपयुक्त जवाफ दिने बताएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले राससलाई जानकारी दिए ।
सो अवसरमा नेकपा (एमाले) को नेतृत्वको सरकारको काम कारबाही र दलबीचको सहकार्य एवम् मुलुकको पछिल्लो राजनीतिक अवस्थाकाबारेमा समेत कुराकानी भएको थियो ।

सो अवसरमा अध्यक्ष दाहालले आफ्नो पार्टीले विगतदेखि नै राष्ट्रिय सहमतिको सरकारका पक्षमा जोड दिँदै आएको भएपनि केही दलकाकारण तत्काल त्यो सम्भव नभए पनि आफ्नो प्रयास जारी रहेको भन्दै राप्रपा नेपाललाई सहयोगका लागि आग्रह गरेका थिए ।

संविधान कार्यान्वयनलगायतका विषयमा प्रमुख दल नमिली सुखै नभएको भन्दै अध्यक्ष दाहालले केपी ओली नेतृत्वको सरकारको सहयात्री समेत भएकाले राप्रपा नेपालको भूमिका महत्वपूर्ण हुने बताएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्