सहिद मनोज–झपेन्द्रलाई सम्झिँदै नेपालले भने– ‘संविधान विदेशीले होइन हामीले कार्यान्वयन गर्ने हो’


१९ कात्तिक ।  नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको आन्तरिक मामिलामा विदेशीले हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय भवनको उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

नेपालको आन्तरिक मामिला नेपालकै नेताहरु बसेर समाधान गर्नुपर्नेमा उनको जोड थियो । उनले आन्तरिक समस्या समाधानका लागि विदेशीको भर पर्नु गलत भएको जिकिर गरे । ‘आन्तरिक मामिलाबारे विदेशीलाई सोध्नु गलत हो,’ उनले कांग्रेस–माओवादीप्रति लक्षित गर्दै भने ‘आफ्नो समस्या समाधान गर्न दलहरु  सक्षम छन् विदेशीको मुख ताक्नु जरुरी छैन ।’

संविधान कार्यान्वयनका लागि सबै दल एक भएर लाग्नु पर्नेमा जोड दिदैँ नेपालले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको स्मरण गराए । संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको भन्दै उनले सबै दल निर्वाचनमा केन्द्रित हुनु पर्नेमा पनि जोड दिए । उनले सम्बोधनका क्रममा कर्मचारी आन्दोलनका क्रममा सहिद भएका मनोज र झपेन्द्रको पनि सम्झना गरेका थिए ।

सो भवनको नाम कर्मचारी आन्दोलनका क्रममा सहिद भएका मनोज र झपेन्द्रको नाम समेटेर ‘सहिद मनोज–झपेन्द्र स्मृति केन्द्रीय भवन’ राखिएको हो । केही वर्षअघि नै सरकारले संगठनको भवन बनाउनका लागि बबरमहलमा १ रोपनी जग्गा उपलब्ध गराएको थियो ।

जग्गा उपलब्ध भएपछि उक्त भवनको निर्माण कार्य ३ वर्षअघि नै सुरु भएको थियो । ३ तले सो भवन निर्माण गर्न १ करोड ८५ लाख रुपियाँ खर्च भएको संगठनका वरिष्ठ उपाध्यक्ष केदारप्रसाद देवकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्