साँझसँगै टिपरको कब्जामा काठमाडौं


काठमाडौं, २८ भदौं । सडक दुर्घटना बढ्न थालेपछि काठमाडौं उपत्यकाभित्र दिउँसो टिपर चलाउन रोक लगाइएको छ । तर, पनि टिपरका कारण हुने दुर्घटनामा कमी आएको छैन ।

०७५ असारमा गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो टिपर चलाउन नदिन निर्देशन दिएको थियो । गृहको निर्देशनअनुसार अहिले राति ७ बजेदेखि बिहानसम्म ७ बजेसम्म मात्रै रिङरोडभित्र टिपरले प्रवेश पाउँछन् ।

निर्माण कार्यका लागि उपत्यका बाहिरबाट रोडा, बालुवा, इँटा र ढुंगा बोकेका टिपर बिहान ७ बजेदेखि बेलुकी सात बजेसम्म उपत्यका भित्रिने नाकाममै रोकिने गरेका छन् । साँझ ७ बजेपछि ती टिपर अन्धाधुन्ध गतिमा हुइँकिन्छन् ।

नेपाल यातायात व्यवसायी महासंघ मालवाहक सेक्टरका अनुसार काठमाडौं उपत्यकामा दैनिक २ हजार हाराहारीमा टिपर भित्रिने गरेका छन् । धादिङको बेल्खुबाट बालुवा बोकेर आउने थानकोटबाट उपत्यका भित्रिन्छन् । काभ्रेको बनेपा हुँदै रोडा र बालुवा बोकेर आउन टिपर साँगाबाट भित्रिने गरेका छन् ।

उपत्यका भित्रिएपछि चालकहरू होसियार नभएकै कारण दुर्घटना बढेको यातायात इन्जिनियर आशीष गजुरेल बताउँछन् । उनका अनुसार उपत्यकाबाहिर जुन तरिकाले टिपर चलाइन्छ यहाँ पनि यति तरिकाले चलाउँदा दुर्घटना घट्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्