कांग्रेसका तर्फबाट साँझसम्म १० जना मन्त्रीले सपथ खाइसक्नुहुन्छः बालकृष्ण खाँड


९ भदौ । व्यवस्थापिका संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसभित्र मन्त्री छनोटमा सकस भैरहेका बेला नेपाली कांग्रेसका एक नेताले भने भागबण्डाको अन्त्य गरेर मन्त्री छनोट गर्ने दाबी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा १३ मन्त्रालयको भाग पाएको कांग्रेसले १० मन्त्री पठाउन बाँकी छ । १० मन्त्रालय मध्ये वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ५, अर्का नेता कृष्ण सिटौलाले दुई र खुमबहादुर खड्काले दुई मन्त्रालयको दाबी गरेपछि सभापति शेरबहादुर देउवा सकसमा परिरहेका बेला उनी निकटकै नेता बालकृष्ण खाँडले भने भागबण्डाबाट नभई कार्यक्षमताका आधारबाट मन्त्री छनोट गर्ने जानकारी दिए ।

‘१३ औँ महाधिवेशनमा सामचन्द्र पौडेल दाईले भागबण्डा गर्नुहुँदैन भन्नुभएको थियो,’ खाँडले भने, ‘त्यहि अनुरुप नै निर्वाचन भयो र शेरबहादुर देउवा सभापति निर्वाचित हुनुभयो । अहिले मन्त्री छनोटमा फेरि रामचन्द्र दाइ ६०–४० को भागबण्डाको प्रस्ताव लिएर आउनुभएको छ ।’

त्यो नगरौँ भन्ने सभापतिको भनाई छ ।’ बुधबार साँझ पनि त्यही विषयमा कुराकानी भएको खाँडले जानकार दिए । ‘सभापतिले कार्य क्षमताका आधारमा मन्त्री छनोट गरेर पठाउनुपर्छ भन्नुभयो,’ खाँडले भने, ‘पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्छ भनेर रामचन्द्र दाईले भन्न्दा महाधिवेशन उत्साहका साथ महाधिवेशन भयो । अब फेरि बखेडा झिक्नु हुँदैन । पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ ।’

सभापतिको भनाइ पनि त्यहि छ ।’ खाँडले पार्टी कार्यकर्ताको भावनालाई पनि मूल्याङकन गरेर सभापतिले मन्त्री छनोटको तयारी गरेको जानकारी दिए । ‘सभापतिले मलाई संसदीय दलको नेता बन्दा र पार्टी अध्यक्ष बन्दा पनि सहयोग नगरेकालाई पनि मिलाएर लैजान्छु भन्नु भएको छ,’ खाँडले भने, ‘सभापतिले त्यहि अनुसार गर्नुहुन्छ ।’

खाँडले शुक्रबार पार्टी सभापतिको देश बाहिर जाने कार्यक्रम तय भएकाले उहाँ जानु भन्दा अघि नै कांग्रेसको तर्फबाट छनोट भएका मन्त्रीहरुले सपथ खाई सक्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्