साउदीबाट उद्दार गरिएका पाँच युवाले सिंहदरबारमै भने–‘सरकार ! म्यानपावरको ठगी कहिलेसम्म ?’


मंसिर ५ । बैदेशिक रोजगारीको सिलसिलामा साउदीको रियादमा अलपत्र परेका पाँच युवाले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । उनीहरुले म्यानपावर व्यवसायीले ठगे पनि सरकारले उद्दार गरेपछि नेपाल फर्किन सकेको बताए । उनीहरुले प्रधानमन्त्रीसँग सिंहदरबारमै भेट गरी यस्तो बताएका हुन् । म्यानपावरको लापरवाहीले गर्दा  पाँच जना युवाहरु अलपत्र परेका थिए । उनीहरुलाई सरकारको पहलमा नेपाल फर्काइएको थियो ।

उद्दार गरिएका श्रीभूवनबस्ती–८, कञ्चनपुरका धनबहादुर मिजारले भने– ‘हामी गएको कम्पनी अवैधानिक रहेछ, दिनदिनै प्रहरीले छापा माथ्र्यो, त्यो बेला हामी कम्पनी छोडेर भाग्नुपथ्र्यो, खाना खाँदाखाँदै, सुतेको बेला पनि हामी कैयौंपटक भाग्यौं ।’

उनले ती पीडा सुनाउँदा प्रधानमन्त्री प्रचण्ड पनि भावुक बनेका थिए । ‘प्रहरी आएपछि लुक्नुपर्ने र अरु बेला चोरीको ढुंगाको काम गर्नुपर्ने रहेछ,’ आफ्नो पीडा सुनाउँदै मिजारले भने ‘मेनपावर र कम्पनीले कुनै वास्ता नगरी उल्टै धम्की दिन थालेपछि हामीले प्रधानमन्त्री कार्यालयमा अनुरोध गर्यौ र हामीलाई उद्दार गरियो, हाम्रो उद्दार गर्नु भएकोमा प्रधानमन्त्रीज्यू र नेपाल सरकारलाई विशेष धन्यवाद ।’ उनीहरुले आफू जस्तै अलपत्रमा परेका नेपालीलाई फर्काउन पहल गर्न सरकारसँग माग गरेका थिए ।

भेटमा प्रधानमन्त्रीले आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै विदेशमा रहेका नेपालीप्रति संवेदनशील भएर काम गरिरहेको बताएका थिए । उनले सरकारले विदेशको जेलमा भएका, मृत्युदण्डको फैसला गरिएका, विदेशमा मृत्यु भएका र अलपत्र परेका नेपालीहरुको उद्दार र राहतका लागि विशेष प्रयत्न गरिरहेको पनि बताएका थिए ।

श्रावण ३ गते त्रीभूवनबस्ती–८, कञ्चनपुरका ३० वर्षीय धनबहादुर मिजार, रामपुर–२, उदयपुरका ३७ वर्षीय राजकुमार बि.क., कोल्हुवा–२, नवलपरासीका ३३ वर्षीय धनबहादुर मगर, गोरखा नगरपालिका–९, गोरखाका ३८ वर्षीय यामबहादुर बि.क. र बौद्ध, काठमाडौंका ३२ वर्षीय अनुप शेर्पा जनही ९० हजारदेखि १ लाख २५ हजारसम्म खर्च गरि महाराजगञ्जको आयुस ओभरसिज सर्भिसबाट बैदेशिक रोजगारीका लागि साउदीको रियाद पुगेका थिए । अलपत्र परेका उनीहरुलाई प्रधानमन्त्री कार्यालयको विशेष पहलमा मंसीर ३ गते नेपाल ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्