साझाको जग्गाः सञ्चालकहरु बेच्न खोज्ने, बोर्ड रोक्ने


१३ असोज । कर्मचारीहरुलाई तलब खुवाउन र नयाँ भवन बनाउन चार वर्षअघि साझा प्रकाशनले लिएको ऋण तिर्न नसकेपछि राष्ट्रिय सहकारी बैंकले ताकेता गरिरहेको छ । सो बैंकबाट साझाले करिब ४ करोड रुपियाँ ऋण लिएको बुझिएको छ । तर, दिनहुँ घाटामा गएको साझाले ऋणको सावाँ तथा ब्याज तिर्नेतिर कुनै चासो नदेखाएपछि बैंकले ताकेता गरेको बताइन्छ ।

वैद्यलाई साक्षी राखेर

दिनहुँ धरासायी हुँदै गइरहेको साझाले पुल्चोकमा रहेको सात रोपनी जग्गा धितो राखेर ऋण लिएको थियो । तर, बैंकले ताकेता गरेपछि साझाका अध्यक्ष डोलिन्द्रप्रसाद शर्माले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर लिलामीमा चढ्न लागेको साझाको सम्पत्ति जोगाउन फेरि ४० करोड ऋण माग गरेका छन् ।

धितोमा रहेको साझाको जग्गा लिलामीबाट जोगाउन प्रधानमन्त्री दाहालकहाँ अध्यक्ष शर्मा मात्र पुगेका थिएनन्, साझाको अवस्थाप्रति चिन्तित तर प्रधानमन्त्री दाहालसँग दुई वर्षअघि नै टाढिएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र सोही पार्टीको सांस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली पनि गएका थिए । उनीहरुले साझालाई बचाउन तत्काल ऋण दिनुपर्नेमा जोड दिएका थिए ।

बोर्डका उपाध्यक्षलाई अनुरोध

प्रधानमन्त्रीलाई भेट्ने क्रममा जग्गा लिलामबाट जोगाउन आग्रह गरिनुका साथै ४० करोड रुपियाँ पाए कर्मचारीहरुको पारिश्रमिक, उपदान, लेखकहरुको लेखकस्व, व्यक्ति, निकाय र संस्थाहरुबाट लिएको ऋण तिर्न पुग्ने कुरा उठाइएको थियो ।

केही दिनअघि, साझाका अध्यक्ष शर्मा राष्ट्रिय सहकारी विकास बोर्डका उपाध्यक्ष सरोज शर्मालाई भेट्न गएका थिए । साझा र बोर्ड सँगसँगै रहेका छन् । उपाध्यक्ष शर्मालाई भेटेपछि अध्यक्ष शर्माले ‘साझाको जग्गा बेच्नुप¥यो, तपाईको सहमति चाहियो’ भनेको सूत्रको दाबी छ । तर, उपाध्यक्ष शर्माले ‘मेरो कार्यकालमा म कुनै पनि हालतमा बेच्न दिन्नँ । तपाईको सम्पर्कमा पूर्वमन्त्रीहरु छन्, उहाँहरुलाई परिचालित गरेर सरकारबाट पैसा ल्याएर समस्या सल्टाउनुस्’ भने ।

अध्यक्ष शर्माले बैंकले ताकेता गरेको कुरा उठाउँदै उपाध्यक्ष शर्मासित जग्गा बेच्न सहमति मागेका थिए । उपाध्यक्ष शर्मा टसको मस नभएपछि सोही समस्या लिएर शर्मा प्रधानमन्त्रीसमक्ष पुगेको बताइन्छ । भेटका क्रममा उपाध्यक्ष शर्माले ‘तपाईहरुले यो समस्या सल्टाउन सक्नु हुन्न भने राजीनामा दिनुस्’ समेत भनेका सूत्रले बतायो ।

प्रतिक्रिया दिनुहोस्