साझा धारणा बनाउन ओली र देउवाबीच सहमति, तीन दलको बैठक छिट्टै बस्ने


२६ मंसीर । संविधान संशोधनका पक्षमा दुई तिहाई नपुग्ने निश्चित भएपछि सत्तापक्षले ‘बहादुरीका साथ पछाडि हट्ने’ उपाय खोजेका छ । आइतबार साँझ एमाले अध्यक्ष केपी ओलाीलाई भेट्न संसदीय दलको कार्यालयमा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवासँगको कुराकानीपछि एमाले नेताहरुले सत्तापक्ष लचिलो भएको निष्कर्ष निकालेका छन् ।

आधा घन्टा भएको उक्त कुराकानीमा सभापति देउवाले अध्यक्ष ओलीलाई पटकपटक समाधान के त ? सहमति कसरी हुन्छ त ? अब के गर्ने त ? भन्ने प्रश्न राखेका थिए । जवाफमा ओलीले ‘संविधानविरोधी संशोधन फिर्ता लिएर चुनावको वातावरण बनाउन छलफल थाल्नुपर्ने सुझाव दिएको’ भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

स्रोतका अनुसार, सत्तापक्षले प्रस्ताव स्थगन गरेर छलफल अघि बढाउन चाहेको छ भने एमालेले फिर्ता गर्नुपर्ने अडान राखेको छ । संविधान संशोधन आवश्यक नै छैन भन्दै आएको एमालेलाई सत्तापक्षले संविधान संशोधन आवश्यक छ भन्ने सैद्धान्तिक सहमतिमा ल्याउन कोसिस गरिरहेको छ । माओवादीका एक नेता भन्छन्, ‘एमालेले त्यति भन्यो भने संशोधनका विषयवस्तुका बारेमा छलफल गर्ने आधार बन्छ ।’

उपनेता नेम्वाङका अनुसार, तीन दलका शीर्ष नेताहरु छिट्टै बस्ने र सहमति खोज्नेमा दुई नेता सहमत देखिएका छन् । लामो समयदेखि बस्न नसकेको तीन दलको बैठक तुरुन्तै बोलाउने गरी दुई नेता छुटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्