साझा बसको सेवा प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन


२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले साझा यातायात सेवालाई प्रभावकारी एवम् यात्रुमैत्री बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा साझाका पदाधिकारीलाई आज बोलाएर प्रधानमन्त्रीले उपत्यकामा यात्रुले पाएको सास्तीलाई मध्यनजर गरी साझाको बस सेवालाई विस्तार गर्न आग्रह गररे ।

पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइकाबीच पनि यात्रुलाई पु¥याइरहेको सेवाप्रति सराहना गर्दै प्रधानमन्त्री दाहालले साझाको महत्व र सेवाग्राहीको चाहना अनुरुप सेवा विविधिकरण र गुणस्तरीय बनाउन आग्रह गरे।

साझा यातायातले उपत्यकामा ३० वटा बस थप्न लागेको र त्यसबारे भइरहेको तयारीका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले साझाका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेलगायतका पदाधिकारीलाई बालुवाटार बोलाएका थिए ।

‘उपत्यकामा आवातजावतका लागि जनताले दुःख पाइरहेका छन् । जनतालाई राहतको अनुभूति दिन आवश्यक छ । काठमाडौँको ट्राफिक जाम, यात्रुको सास्तीलाई मध्यनजर गरी साझा बस थप्नेबारे ठोस निर्णय गर्नुस्’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले बताए

प्रधानमन्त्री दाहालले सम्बद्ध पक्षसँग छलफल र गृहकार्य गरेर कम्तीमा ३० वटा साझा बस थप्न आवश्यक रहेकोमा कामु निर्देशकको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्