साढे तीन वर्षपछि धरहरा चढ्न पाइने


६ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ६० हजार निर्माणकर्मी तयार पारेर निर्माण कार्यमा लगाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले पुनर्निर्माण सम्बन्धी लक्ष्य तथा समय तालिकासहितको कार्ययोजना तय गरेको छ ।

पुनर्निर्माण कार्यमा निर्माणकर्मीहरुको अभाव रहने स्पष्ट संकेत देखिएपछि ६० हजार निर्माणकर्मी उत्पादन गर्ने कार्यमा प्राधिकरण जुटेको हो । प्राधिकरणले पहिलो चरणमा यही मंसिर महिनाभित्र २० हजार, दोस्रो चरणमा माघ महिनाभित्र १० हजार र तेस्रो चरणमा फागुन मसान्तभित्र ३० हजार निर्माणकर्मी उत्पादन गर्ने लक्ष्य राखेको छ ।

यसैगरी, ०७७ असारसम्ममा धरहरा पनि बन्ने भएको छ । धरहराको पुनर्निर्माण कार्यका निम्ति मूल भागको विस्तृत इन्जिनियरिङ्ग डिजाइन कार्य ०७३ मंसिर मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सोको निर्माण कार्यका निम्ति नेपाल टेलिकमसँग ०७३ मंसिरभित्रमा सम्झौता गरी ०७४ असारभित्रमा निर्माण कार्य सुरुवात गरी ०७७ असारभित्रमा सम्पन्न गर्ने प्राधिकरणले जनाएको छ ।

यसैगरी, प्राधिकरणले निर्माण सामग्री आपूर्तिका लागि निर्माण सामग्री बैंक स्थापना गर्ने पनि जनाइएको छ । प्राधिकरण, आपूर्ति र सहरी विकास मन्त्रालयको समन्वयमा सो बैंक स्थापना गर्न लागिएको हो । जसमा पहिलो चरणमा २०७३ पुसभित्र ३ जिल्लामा, दोस्रो चरणमा माघभित्र अरु ३ जिल्लामा र फागुनभित्र ५ जिल्लामा सो बैंक स्थापना गर्ने जनाइएको छ ।

३२ सय विद्यालय तीन वर्षभित्रै

यसरी नै, भूकम्पले क्षति पु¥याएका ७ हजार ९ सय २३ विद्यालयमध्ये विद्यालय विद्यालय व्यवस्थापन समितिमार्फत प्रस्तावित ३ हजार १ सय ९८ विद्यालयहरुमा १ हजार १ सय विद्यालयहरु ०७३ माघ मसान्तभित्र पुनर्निर्माण कार्य सुरु गरी ०७४ माघ मसान्तभित्र सम्पन्न गर्ने, अरु १ हजार १ सय वटा विद्यालयहरु ०७४ साउनभित्र पुनर्निर्माण कार्य सुरु गरी ०७५ असारभित्र सम्पन्न गर्ने र ९ सय ९८ वटा विद्यालयहरु ०७५ साउनभित्र पुनर्निर्माण सुरु गरी ०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य पनि प्राधिकरणले लिएको छ ।

दुई ठाउँमा स्मृतिपार्क बन्ने

प्राधिकरणले भूकम्पको केन्द्रविन्दु बारपाकमा भूकम्प स्मृतिपार्कको विस्तृत डिजाइन कार्य ०७३ मंसिरभित्र सुरु गरी ०७३ माघभित्र सम्पन्न गर्ने टुंगो गरेको छ । सो कार्यका लागि सामुदायिक तहमा हुने निर्माण कार्य ०७३ मंसिरसम्ममा प्रारम्भ गरी सम्पूर्ण निर्माण काय ०७६ जेष्ठसम्ममा सम्पन्न गर्ने जनाइएको छ ।

यसैगरी, सिन्धुपाल्चोकको भूकम्प स्मृतिपार्कको विस्तृत डिजाइन कार्य ०७३ पुसभित्र सुरु गरी ०७३ चैत्रभित्र सम्पन्न गर्ने र सोको निर्माण कार्य ०७४ साउनमा सुरु गरी०७६ साउनभित्र सम्पन्न गर्ने पनि जनाइएको छ ।

यसैगरी, पाटन दरबार क्षेत्रअन्तर्गतका २७ वटा क्षतिग्रस्त पुरातात्विक सम्पदाहरु, बसन्तपुर दरबार क्षेत्र अन्तर्गतका मुख्य १२ वटा क्षतिग्रस्त पुरातात्विक सम्पदाहरु, भक्तपुर दरबार क्षेत्र अन्तर्गतका १९ वटा क्षतिग्रस्त पुरातात्विक सम्पदाहरु, स्वयंभू दरबार क्षेत्र अन्तर्गतका ४ वटा क्षतिग्रस्त पुरातात्विक सम्पदाहरु पनि केही वर्षभित्रै पुननिर्माण गरिसक्ने लक्ष्य प्राधिकरणले राखेको छ । बौद्धनाथ स्तूपाको पुनर्निर्माण कार्य सम्पन्न भसकेको र पशुपति क्षेत्र अन्तर्गतका २७ वटा क्षतिग्रस्त पुरातात्विक सम्पदाहरु, चाँगुनारायण क्षेत्र अन्तर्गतका ५ वटा क्षतिग्रस्त पुरातात्विक सम्पदाहरु पनि चाँडै नै पुनर्निर्माण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्