साढे पाँच महिनामा कञ्चनपुरमा नौ जनाको हत्या


१८ साउन । कञ्चनपुरमा पछिल्ला केही महिनामा जघन्य अपराधका घटनाहरु बढेको देखिएको छ । बितेको साढे पाँच महिनामा मात्रै कञ्चनपुरमा ९ जनाको हत्या भएको छ ।

कञ्चनपुर प्रहरीको तथ्याङ्कमा छोटो समयमा यति धेरै हत्याका घटना भएको यो पहिलो पटक हो । हत्याका घटनाहरु बढ्दै जानुले सर्वसाधारणमा त्रास फैलिएको छ भने प्रहरी सुरक्षामा चुनौती थपिएको छ । गत फागुन यता चार महिला, चार पुरुष र एक बालकको गरी नौ जनाको हत्या भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । विसं २०७२ फागुनको दोस्रो सातादेखि सुरु भएको हत्या शृङ्खला साउन १८ गतेसम्म आइपुग्दा पनि रोकिएको छैन ।

गत साउन ९ गते भीमदत्तनगरपालिका–११ का २४ वर्षिय रोहित विष्टको हत्या गरी भुजेला खोलामा फालिएको अवस्थामा भेटियो । उक्त घटनामा संलग्न भनिएका स्थानीय तीन युवक पक्राउ परेका छन । रोहित हत्या काण्ड भएको नौ दिनपछि आइतबार राति वाइसेविचुगा गाविस–७ का चन्द्र बहादुर ठकुल्लाले आफ्नै श्रीमती लक्ष्मी देवी ठकुल्लाको कुटपिट गरी हत्या गरे । कुटपिटमा संलग्न चन्द्रसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिरहेको छ ।

विसं २०७२ फागुन १६ गते आफ्नै होटलमा झलारीपिपलाडी नगरपालिकाका दामोदर अवस्थीको घाँटी रेटेर राति होटलभित्र हत्या भयो । उनको हत्यामा संलग्न झलारीपिपलाडी नगरपालिका–११ का केही युवा पक्राउ परे । कलुवापुर बजारमा बैतडी होटल सञ्चालन गरिरहेका अवस्थीलाई युवाको समूहले सँगै होटलमा मादक पदार्थ सेवन गरेर हत्या गरेका थिए । त्यसैगरी भीमदत्त नगरपालिका–१८ गोवरियामा स्थानीय विष्णु भट्टले आफ्नो नाबालक छोराको वीभत्स हत्या गरे । हत्या पछि फरार भएका भट्ट अझै फेला परेका छैनन् ।

त्यस लगत्तै दैजीमा विष्णु भट्टको हत्या गरी शव पूर्व पश्चिम राजमार्गमा फालिएको अवस्थामा भेटियो । बेदकोट नगरपालिकाका भट्टको गत चैत ६ गते हत्या गरी दुर्घटना भएको देखाउन राजमार्गमा ल्याएर फालिएको प्रहरी बुझाइ छ । उक्त घटनामा जिल्ला प्रहरी कार्यालयको टोली अनुसन्धानमै जुटे पनि हत्या पत्ता लगाउन सकेको अवस्था छैन ।

त्यसैगरी गत वैशाख २३ गते राति भीमदत्तनगरपालिका–४ बजारको मुटुमै रहेको संगम होटलमा दुई जना मजदुरको हत्या भयो । यो घटनामा थप एक मजदुर गम्भीर घाइते हुन पुगे । यो घटनामा बाजुराका भीम रोकाया र कञ्चनपुरको बेदकोट नगरपालिकाका कृष्ण विष्टले ज्यान गुमाए ।

दैजी घटनामाथिको प्रहरी अनुसन्धान अझै पूरा हुन सकेको छैन । हत्या गरिएका विष्टका आफन्तहरुले हत्यारालाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिरहेका छन् । यसैबीच कञ्चनपुरको पुनर्वास नगरपालिकामा २४ वर्षीया बासमती रानालाई जलाएर उहाँकै श्रीमान्ले हत्या गरे । उक्त घटनामा उहाँका श्रीमान् राजकुमार राना अहिले प्रहरी कारबाहीमा छन् ।

त्यस्तै, गत जेठ १८ गते यहाँको बेदकोट नगरपालिका–१ चम्फापुरका रामदुलारी रानाको हत्या भयो । जेठ १८ मा हराएकी राना २२ गते मृत अवस्थामा भेटिएकी थिइन् । रानाका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा छन् । उक्त घटनाका आरोपित स्थानीय प्रकाश मल्ल पुर्पक्षका लागि कारागार चलान गरिएका छन् ।

त्यसैगरी कृष्णपुर नगरपालिका–३ छोटी किँचाइमा स्थानीय केशव बोहराले श्रीमती माया बोहराको जेठ २४ गते राति हत्या गरेर शव नजिकैको गाईगोठमा खाल्डो खनेर गाडेको अवस्थामा फेला प¥यो । घटनाका अभियुक्त बोहराले परपुरुषसँग श्रीमतीको शारिरीक सम्बन्ध रहेको थाहा पाएपछि हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक तुलसी प्रसाद अधिकारीले हत्या, हिंसालगायतका अपराध नियन्त्रणमा नागरिक समाज स्वयम् सचेत हुनुपर्नेमा जोड दिए ।

‘घर घरमा हुने अपराध प्रहरीले नियन्त्रण गर्न सम्भव हुँदैन,’ उनले भने – ‘घटना हुन नदिन सबै नागरिक समाज, स्थानीय बासिन्दा र सचेत वर्गले पनि सहयोग गर्नुप¥यो ।’

स्थानीयवासीले सुरक्षा चुनौती बढेको बताउँदै नागरिकको सुरक्षामा जोड दिन सरकारसँग माग गरिरहेका छन् ।

महाकाली अञ्चल प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामप्रसाद श्रेष्ठले अञ्चलमै सबैभन्दा बढी अपराधका घटनाहरु कञ्चनपुरमा बढिरहेको बताए । ‘बाँकी तीन पहाडी जिल्लाको तुलनामा कञ्चनपुरमा ७० प्रतिशत अपराधका घटनाहरु भएका छन्,’ प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले भने – ‘घटना, आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नागरिक समाज, सामाजिक सङ्घ संस्था र आम नागरिक जागरुक हुनुप¥यो ।’ गरिबी, मादक पदार्थ सेवन, वैदेशिक रोजगार लगायतका कारण हत्याका घटनाहरु बढिरहेको उनको भनाइ थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्