साता दिनदेखिको बन्द खुल्यो, जनप्रदर्शन भने नरोकिने


२२ मंसिर । प्रदेश नम्बर ५ बाट पहाड र तराईलाई अलग्याउने सरकारको संविधान संशोधन प्रस्ताव विरुद्ध ओर्लिएका सो प्रदेशका राजनीतिक दलहरुका साथै स्थानीयबासीले बुधबारदेखि आन्दोलनको स्वरुपमा केही परिवर्तन गरेका छन् । जनजीवनले कष्ट बेहोर्नु नपर्ने गरी आन्दोलनलाई अगाडि बढाउन सो प्रदेशका १२ वटै जिल्लाका बासिन्दाहरु तयार भएका छन् ।

आन्दोलनको केन्द्रविन्दु रहेको बुटवलमा आजदेखि बन्द खुलेको छ । लामो बन्दका कारण जनजीवन प्रभावित बन्ने देखिएपछि बन्द फिर्ता लिएर राजनीतिक दलहरु र स्थानीयबासीले प्रदर्शन मात्र जारी राख्ने टुंगो गरेका छन् । आज पनि बुटवलमा भव्य प्रदर्शन गर्ने तयारी भइरहेको छ ।

यसैगरी, अर्घाखाँचीको बन्द पनि खुलेको छ । अर्घाखाँची विगत ६ दिनदेखि बन्द थियो । बन्दको कार्यक्रम छाडेर संशोधन प्रस्ताव फिर्ता नलिएसम्म दिनहुँ प्रदर्शन गर्ने, कोणसभा गर्ने टुंगोमा आन्दोलनकारी पक्षहरु सहमत भएका छन् ।

यसैगरी, प्यूठान, गुल्मी, पाल्पा, रोल्पालगायत तराईका जिल्लाहरु नवलपरासी, कपिलवस्तुमा पनि आन्दोलनको स्वरुप परिवर्तन भएको छ । यसअघि, कपिलवस्तुमा भने निधेषाज्ञा लगाइएको थियो । मंगलबारै निधेषाज्ञा हटेपछि सो क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ ।
त्यसो त, आन्दोलन चर्किँदै जाँदा उर्लिएको जनसागरलाई देखेर नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले समेत आन्दोलनमा सहभागिता जनाएका थिए । तर, मंगलबारदेखि भने रुपन्देहीमा कांग्रेसका कार्यकर्ताहरु सडकमा निस्किन छाडेका छन् भने रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताहरुले आन्दोलनमा सहभागिता जनाउन छाडेका छन् । यी दुवै जिल्लामा रुपन्देहीमा कांग्रेसले र रोल्पामा माओवादीले आफ्ना कार्यकर्तालाई आन्दोलनमा भाग नलिन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्