सामाजिक सञ्जालमार्फत सचेतना जगाउँदै काङग्रेस नेता  


काठमाडौँ, २८ चैत ।  कोभिड–१९को सम्भावित जोखिम हुन नदिन यही चैत ११ गतेदेखि मुलुकभर ‘लकडाउन’ जारी रहेको छ । यसले गर्दा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा, यातायात र हिँडडुलमा कडाइ गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका अधिकांश नेता सामाजिक सञ्जाल तथा विभिन्न सूचना प्रविधिमार्फत प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा कोरोना भाइरस रोकथामको अभियानमा जुटेका देखिन्छन् । सामाजिक सञ्जालको प्रयोगमा कम अभ्यस्त देखिने काँग्रेसका शीर्ष पदाधिकारी तथा नेताहरु अहिले सामाजिक सञ्जाल र सूचना प्रविधिको उपयोगमा युवा नेताहरुसँगै अभ्यस्त बनेका छन् ।

उहाँहरु यतिखेर दैनिक रुपमा विभिन्न सामाजिक सञ्जालमार्फत सो भाइरसको सम्भावित जोखिम हुन नदिन आवश्यक जनचेतना फैलाउन, लकडाउन पालना गर्न जनतालाई अपिल गर्न तथा जनताका जनजीविकाका समस्या बारेमा सरकारको ध्यानाकर्षण गराई समाधानका गर्न सरकारलाई सुझाव दिन लागिरहनुभएको छ । साथै स्थलगत रुपमा सर्वसाधारणलाई राहत वितरण, विभिन्न सञ्चारमाध्यममार्फत जनआह्वान , टेलिफोन संवाद र केही भेटघाट गरेर समेत सो भाइरस रोकथामको अभियानमा सरकारलाई साथ र सहयोग दिइरहनुभएको छ ।
लकडाउन जारी रहदा काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सक्रिय देखिनुभएको छ । उहाँले दैनिकजसो सामाजिक सञ्जाल, टेलिफोन, सञ्चारमाध्यम, प्रेस विज्ञप्तिमार्फत सन्देश प्रवाह तथा संवाद गरेर कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा लागिरहनुभएको छ । यसै क्रममा सभापति देउवाले लकडाउन लागू भएपछि पहिलो पटक मङ्गलबार पदाधिकारी बैठक राखेर कोरोना सङ्क्रमणको रोकथाम सम्बन्धमा आवश्यक निर्णय गराउनुुभयो । गत आइतबार उहाँले पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा संवाद गरी कोरोना भाइरसको जोखिम हुन नदिन ऐक्यबद्ध भइ कार्य गर्न अपिल गर्नुभएको थियो ।
सभापति देउवाले लकडाउनका कारण दैनिक काम गरेर गुजारा गर्ने मजदूर, विपन्न समुदाय, व्यवसायी र सञ्चार क्षेत्रका लागिसमेत सहुलियतको राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरिरहनुभएको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो पटक सामाजिक सञ्जाल प्रयोगमा सयम दिनुभएको छ । उहाँले बिहीबार मात्रै कोरोना भाइरस सङ्क्रमणको सामाजिक तथा आर्थिक प्रभावसँगै अत्यावश्यक कृषि उपजको उत्पादन, बजारीकरण र व्यवस्थाबारे सहजीकरण कसरी गर्न सकिन्छ भनेर सम्बन्धित विज्ञ समूहसँग छलफल गर्नुभएको थियो । उहाँले भिडियो कन्फरेन्समार्फत सो विषयमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षद्वय डा गोविन्द पोखरेल र डा स्वर्णीम वाग्ले सहित प्रा डा कमल रिजाल, डा सुरज पोखरेल, डा सिद्धिगणेश श्रेष्ठ, डा माधवप्रसाद पौडेल, डा प्रद्युम्नराज पाण्डे, सहदेवप्रसाद हुमागार्इंसँग छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्