सामाजिक सञ्जाल बन्यो चरित्र हत्या गर्ने माध्यम, यस्तासम्म हुन्छन् कर्तुत


काठमाडौं, २६ मंसिर । करिब एक महिनाअघिको कुरा हो । अछामका २१ बर्षे पुरन तिमल्सिना साइबर अपराधमा समातिए ।

भारतमा बस्ने उनले आफ्नै गाउँकी एक युवतीको ‘फेक’ फेसबुक अकाउन्ट खोले । युवती र उनका बुवाको फोटोमा अश्लील फोटो जोडेर म्यासेन्जरमा युवतीका आफन्तलाई पठाउन थाले । काठमाडौंमा पढ्दै गरेकी युवतीलाई उनीमाथि शंका लागेपछि प्रहरीमा उजुरी गरिन् र तिमल्सिना समातिए ।

सामाजिक सञ्जाल दुरुपयोग गर्दा समातिनेमा काठमाडौंमै बस्दै आएका ३८ बर्से शिवहरि थापा पनि पर्छन् । फेसबुकमार्फत् उनको २० वर्षीया युवतीसँग चिनजान भयो । सम्बन्ध अघि बढ्दै गएपछि उनले युवतीसँग बिहेको प्रस्ताव राखे र भेट्न बोलाए । युवती संखुवासभादेखि काठमाडौं आइन् । बौद्धको होटलमा भेट भयो । सँगै बसेका केही तस्बिर मोबाइलमा खिचे ।

आफूभन्दा थापा १८ वर्ष जेठा भएको थाहा पाएपछि युवतीले सम्बन्ध अघि बढाउन चाहिनन् । थापा त्यसको प्रतिशोध लिन चाहन्थे । उनले युवतीको फेक फेसबुक आईडी बनाएर युवती सँगै बसेका तस्बिर पठाउन थाले । यस्तो गरेकोमा उनी अहिले कारागारमा छन् ।

कपिलवस्तुका २६ बर्से अकबर अलि मियाँले अपत्यारिलो साइबर अपराध गरे । सामान्य मजदुरी गर्ने उनले आमाको नामबाट सिमकार्ड किनेर एक महिलालाई राति १२ बजे फोन गरे । महिलाले चिन्न अस्विकार गरेपछि उक्त महिलाको टाउको अश्लील फोटोमा जोडेर म्यासेजमा पठाउँदा उनी समातिए ।

सामाजिक सञ्जाल दुरुपयोग गरेर समातिनेमा बर्दिया घर भएका १७ वर्षीय भैरव विष्ट पनि हुन् । छानबिनमा विष्टसँग ५ वटा फेसबुक आईडी भएको पाइयो । उनले गृह जिल्लाकी १४ वर्षीया किशोरीको नाममा फेसबुक आईडी बनाएका थिए । त्यसपछि ती किशोरीको टाउको पोर्न फोटोमा जोडेर फेसबुक प्रोफाइलमा पोस्ट गरेका थिए । उनी बालिग भएकाले उनलाई सुधार गृहमा राखिएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार सम्बन्ध राम्रो रहेसम्म शारीरिक सम्बन्ध बनाउने र बिग्रिएपछि त्यही सम्बन्ध सामाजिक सञ्जालबाट सार्वजनिक गरी चरित्र हत्या गर्ने प्रवृत्ति बढेको छ ।

यस्ता अपराधमा प्रायः किशोरकिशोरी संलग्न भएको पाइन्छ । तर साइबर अपराधमा सबै उमेर समूहका व्यक्तिले गरेको तथ्यले औंल्याउँछ । डीएसपी बोगटी भन्छन्, ‘सम्बन्ध बिग्रिएपछि प्रतिशोध लिन पीडकले वैवाहिक सम्बन्ध समेत टुटाइ दिने गरेका छन् ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्