सार्वजनिक क्षेत्रका पर्खाल भत्काउँदै महानगर


ललितपुर, ५ पुस । ललितपुर महानगरपालिकाले सार्वजनिक स्थलका पर्खाल हटाउने काम सुरु गरेको छ । पुलचोक इन्जिनियरिङ क्याम्पस, जावलाखेल फुटबल मैदान, लगनखेलको फुटबल मैदानलगायतका क्षेत्रको पर्खाल महानगरले भत्काउने निश्चित भएको छ ।

पुलचोक इन्जिनियरिङ क्याम्पसभित्रको आनन्द निकेतन दरबारबाहिरको पर्खाल भत्काई फेन्स (सामान्य बार) निर्माण गर्ने काम हुँदै छ । त्यसको निर्माण केही दिनमा सम्पन्न हुने भएको छ । जावलाखेल फुटबल मैदानको पर्खाल भत्काउने काम धमाधम भइरहेको छ । साथै, लगनखेल बुद्धि विकास फुटबल मैदानको पनि पर्खाल महानगरले भत्काउने भएको छ ।

फुटबल मैदानमा पर्खाल हुँदा सर्वसाधारणले फुटबल हेर्न कष्ट भोगेकाले महानगरभित्रको फुटबल मैदानको पर्खाल भत्काउन लागिएको महानगरले जनाएको छ । सर्वसाधारणलाई सार्वजनिक स्थलको सुन्दरता अवलोकन गराउने उद्देश्यले पर्खाल भत्काउने काम सुरु गरेको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । महानगर प्रमुख महर्जनले भने, ‘सार्वजनिक स्थलको सुन्दरता देखाउन सार्वजनिक स्थलको पर्खाल भत्काई फेन्स लगाउँदै छौँ ।’

ह्वाइट हाउस मोडल अपनाउँदै महानगर
ललितपुर महानगरले अमेरिकाको ह्वाइट हाउसजस्तै अवलोकन गर्न सक्ने सार्वजनिक स्थलको व्यवस्थापन गर्ने भएको छ ।

महानगरभित्रका सरकारी वा अर्धसरकारी क्षेत्रमा रहेका पर्खाल हटाएर बाहिरबाट सर्वसाधारणले अवलोकन गर्न सक्ने बनाउने महर्जनले बिहीबार आयोजित सार्वजनिक सुनवाइमा बताएका थिए । महानगरले खुल्ला क्षेत्र संरक्षण गर्ने नीतिअनुरूप चालू आर्थिक वर्षमा १० वटा बगैँचा निर्माण गर्ने प्रतिबद्धता पनि जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्