सांसद् पद र पार्टी छाड्न तयार छु, प्रदेश पाँच टुक्रिन दिन्नः चन्द्र भण्डारी


१६ मंसिर । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पाँच नम्बर प्रदेश सबैभन्दा बढी राजश्व दिने प्रदेश भएको भन्दै सो प्रदेशलाई विभाजन गर्ने सरकारको निर्णय गलत भएको बताएका छन् । उनले भारतीय नाकाबन्दीका बेला काठमाडौंलाई तेल आपूर्ति गर्ने प्रदेश पनि पाँच नम्बर नै भएको भन्दै त्यसलाई विभाजन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

‘पाँच नम्बर प्रदेशका ४३ जना तराई र पहाडका सांसद्हरुले हस्ताक्षर गरेर यो प्रदेश बनाइएको हो,’ उनले भने, ‘पाँच नम्बर प्रदेशमा कुनै पनि संसद्, व्यक्ति वा समूह आफुहरुलाई अलग्याउनुपर्छ भन्ने पक्षमा छैनन् । त्यसैले  लहडमा वा कुनै अस्थिरता ल्याउनका निम्ति वा संविधान कार्यान्वयन नगर्नका निम्ति विभाजन गर्ने यो निर्णय गलत छ ।’
उनले आफ्नो पार्टी नेपाली कांग्रेस भित्र पनि प्रदेश नम्बर पाँचलाई अलग गर्ने पक्षमा केही नेता मात्र रहेको बताएका छन् ।  उनले केही सिमित व्यक्तिहरुले हिमाल, पहाड र तराईका सीमाहरु छुट्याउनै पर्छ भनेर नेपाली जनतासँग ‘ब्याकमेलिङ’ गरेको पनि आरोप लगाए ।

उनले प्रदेश नम्बर पाँच अलग गर्ने विषयमा पार्टीको ह्वीप समेत नमान्ने चेतावनी दिएका छन् । ‘हाम्रै पार्टीका साथीहरुले गिरिजा प्रसादको सरकार ढालेका हुन्,’ उनले भने, ‘हाम्रै पार्टीका साथीहरुले एमालेसित मिलेर दरबारमा निवेदन दिन गएका हुन् । हाम्रै पार्टीका साथीहरुले शेरबहादुको सरकार पनि ढालेका हुन् ।’

उनले संविधान कार्यान्वयनका लागि कांग्रेस, एमाले र माओवादीको सहकार्य चाहिने भन्दै अन्यथा संविधान कार्यान्वयन हुन नसक्ने दाबी पनि गरे । मधेसीहरुले उठाएका मागहरु सबै सम्वोधन गरिसकेको भन्दै  सप्तरीदेखि पर्सासम्मको प्रदेश बनाएको स्मरण गराए ।

उनले नेपाली जनताले अपेक्षा गरे जस्तो देशको नेतृत्व नभएको पनि आरोप लगाए । ‘हामीले सोचेजस्तो हाम्रो देशको नेतृत्व छैन । अमेरिका बन्नु भन्दा आठ वर्ष अगाडि पृथ्वीनारायण शाहले हाम्रो देश बनाएका हुन्,’ उनले भने, ‘उनको उत्तराधिकारी ज्ञानेन्द्रलाई हामीले नराम्रो भन्यौं होला तर ज्ञानेन्द्रले आर्मी लगाएको भए अझ १५–२० वर्ष शासन चलाउन सक्थे । तर उनले त्यसो नगरी राजदण्ड छाडेर गए । उनले कसैसँग सम्झौता गर्न चाहेनन् । तर अहिले हामी ७–८ महिना सरकार चलाउन पनि विभिन्न ठाँउमा लम्पसार पर्छौ यो आवश्यकता छैन ।’

आफ्नो पार्टी र सांसद् पद त्याग्न तयार छु 

भण्डारीले पाँच नम्बर प्रदेश विभाजन गर्ने कुरामा आफ्नो कुनै सहमति नहुने दाबी गरे । आफ्नो पार्टी र सांसद् पद त्याग्ने तर आफ्नो एजेण्डाबाट पछि नहट्ने उनले चेतावनी दिए ।  ‘मेरो देश, मेरो लोकतन्त्र र हाम्रा जनता भन्दा म ठूलो होइन,’ उनले भने, ‘मेरो पद ठूलो होइन । मलाई यो आवश्यकता नै छैन । म सधैं मेरो देश, जनता र प्रजातन्त्रका निम्ति एक्लै परेपनि म उभिन तयार छु । म लड्न तयार छु मलाई केही कुराले छुँदैन ।’

उनले ९० प्रतिशत जनताको समर्थनमा बनाएको संविधानलाई अरुले भनेका भरमा कमजोर नबनाउने दाबी गरे । ‘भारतले  जम्मा ६५ प्रतिशतले र अमेरिकाले जम्मा ५२ प्रतिशतले बनाएको हो । हामी ९० प्रतिशत मिलेर बनाएको संविधानलाई अल्पमतमा पार्ने काम कसैले पनि गर्नु हुँदैन,’ उनले भने ।  त्यति मात्र होइन उनले एक कार्यक्रममा राष्ट्रियतकाको विषयमा केपी ओलीसँग सिक्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्