सिंहका अधिवेशनमा ओली प्रमुख अतिथि !
२१ जेठ । निर्वाचन आयोगले खारेज गरिसकेको पार्टीको भोलि हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन् ।
एकताका नेकपा (एमाले) का केन्द्रीय सदस्य रहिसकेका प्रेमबहादुर सिंहको अध्यक्षतामा रहेको समाजवादी जनता पार्टी (सजपा)को दोस्रो राष्ट्रिय महाधिवेशन नेकपा (एमाले) का अध्यक्ष समेत रहेका केपी ओलीले गर्ने भन्दै उक्त पार्टीले निमन्त्रणा पठाएको छ । ओली नेतृत्वको वर्तमान सरकारमा खानेपानी तथा सरसफाइ मन्त्री रहेका सिंहको पार्टीका महासचिव कृष्णबहादुर शाही लगायतको जम्बो टोली एक वर्ष अघि नै एमालेमा पवेश गरिसकेको थियो ।
प्रायः सानै आकारको भए पनि आफ्नै पार्टीको महाधिवेशनमा अर्को पार्टीका अध्यक्षलाई प्रमुख अतिथि बनाउने चलन देखिँदैन । तर, सिंहको यो कार्यक्रमले उनी कतै महासचिव शाही जस्तै एमालेमा प्रवेश गर्न लागेका त होइनन् भन्ने चर्चा बढाएको छ । सो पार्टीको भोली जेठ २२ गते शनिबार पशुपति वनकाली स्थित सुमार्गी भवनमा हुने भएको छ ।