सिंहदरबारमा ओली नपग्लिएपछि प्रचण्ड निरास


२५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई संविधान संशोधन प्रक्रियाप्रति सहमत गराउने प्रधानमन्त्री प्रचण्डको प्रयास असफल भएको छ । बिहीबार सिंहदरबारस्थित सभामुख ओनसरी घर्ती मगरको कार्यकक्षमा करिब ४० मिनेट भएको छलफल सकारात्मक बन्न नसकेपछि प्रधानमन्त्री प्रचण्ड निरास बनेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डबीच   संविधान संशोधन, अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावलगायतका विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
छलफलपछि बाहिर निस्किएका ओलीले सञ्चारकर्मीसँग पनि संविधान संशोधन प्रस्तावप्रति एमाले सकारात्मक नरहेको प्रतिक्रिया दिए । ‘संविधान संशोधन केमा, केका लागि, किन गर्ने मैले थाहा पाएको छैन,’ उनले भने । ओली प्रधानमन्त्री प्रचण्डको आग्रहमा छलफलका लागि सिंहदरबार गएका थिए ।

प्रतिक्रिया दिनुहोस्