सिंहदरबारमा सर्वदलीय छलफल, पुनर्निर्माणका कांग्रेसको असन्तुष्टि


काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलहरुबीच छलफल भएको छ । छलफल आगामी बजेट अधिवेशनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा केन्द्रित भएको थियो । बैठकमा दलका नेताहरुले संसद्लाई प्रभावकारी बनाउने, भूकम्पपछिको पुनःनिर्माण वर्षा अगावै सक्ने र मधेस समस्याका विषयमा संयुक्त गठबन्धनले उठाएका जायज माग सम्बोधन गरेर अघि बढ्न सुझाव दिएका थिए ।

बैठकमा कांग्रेसले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रभावकारी काम गर्न नसक्दा भूकम्प पीडित समस्यामा परेको भन्दै सरकारको आलोचना गरेको थियो । बैठकमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवाले बजेट आउनुपूर्व घनीभूत छलफल गरेर आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउन माग गरेका थिए ।

एमाओवादीका महासचिव कृष्णबहादुर महराले आगामी संसद् अधिवेशन र भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी बनाउने तथा मधेसमा आन्दोलनरत दलसँग वार्ताका विषयमा छलफल भएको जानकारी दिएका थिए । कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले भूकम्पबाट प्रभावित जनताका लागि स्वयम्सेवक परिचालन समस्याको सानो रुप भएकाले यसका लागि कार्यविधि निर्माण गरिनुपर्ने माग रबाएका थिए ।

प्रतिक्रिया दिनुहोस्