सिटौला बने देउवाको भर्‍याङ, नेविसंघ चुनावमा पनि देउवाकै पछिपछि


१ भदौ । पहिलो संविधानसभाताका नेपाली कांग्रेसको बैठकमा कृष्ण सिटौला प्रवेश गर्‍यो कि अरू नेताहरूले उनलाई फरक शैलीले हेर्थे । बैठकमा उनी प्रवेश गर्नासाथ कतिपयले त ‘पारिको मान्छे आयो’ भन्दै कानेखुसीसमेत गर्थे । गिरिजाप्रसाद कोइराला जीवित छउन्जेल उनको चाकडी गरेर राजनीतिक दुनो सोझ्याएका उनै सिटौला अहिले सभापति शेरबहादुर देउवाको चाकडीमा लिप्त बनेका छन् । आफ्नो स्वार्थका लागि उनी देउवाको भर्‍याङ बन्न अग्रसर भएको टिप्पणी कांग्रेस वृत्तमा व्याप्त छ ।

नेविसंघको जारी महाधिवेशनमा सिटौलाले खेलेको भूमिकालाई लिएर खासगरी रामचन्द्र पौडेल पक्षधरहरूले खुलेआम उनको कडा आलोचना गर्न थालेका छन् । प्रतिनिधि मनोनयनमा आफ्नो भाग माग्दै अनशन बसेको सिटौला समूहले भाग पाउनासाथ देउवा समूहलाई समर्थन गरेपछि देउवा सिटौला गठबन्धनको भित्री रहस्य झन् उजागर भएको छ ।

सिटौला कांग्रेसमा देउवाको उपयोगको पात्र बनेर प्रस्तुत भएको बताइन्छ । गत फागुनमा सम्पन्न पार्टीको १३औं महाधिवेशनमा पनि सिटौला तेस्रो समूहका रूपमा मैदानमा खडा भएको थियो । स्रोतले भन्यो– ‘त्यो बेला पनि देउवाले नै उनलाई तेस्रो शक्तिका रूपमा खडा गराएका थिए ।’ सभापतिमा रामचन्द्र पौडेल र आफू दुईजना मात्र उम्मेदवार हुँदा पहिलो चरणमै जित्नेमा विश्वस्त नभएर दोस्रो चरणमा भए पनि सहज जितका लागि सिटौलालाई उठाइएको थियो । दोस्रो चरणमा सिटौला समूहले देउवालाई नै समर्थन गरेको थियो ।
अहिले नेविसंघको अधिवेशनमा पनि सिटौला समूहले पार्टीको अधिवेशनकै रणनीति लिएको छ । यो सबै देउवाकै चुनावी रणनीतिअन्तर्गत भएको बताइन्छ । सिटौला समूहका नेतालाई अनशन बसाएर त्यो पक्षलाई प्रतिनिधि मनोनीत गराएपछि देउवा समूहसँग मिलेर उम्मेदवारी दिइएको हो । १ सय ५१ सदस्यीय केन्द्रीय कमिटीमध्ये १ सय २९ जनाका लागि आज चुनाव हुँदै छ । भोटिङ मेसिनबाट मतगणना गर्ने भएकाले आज राति वा भोलिसम्ममा परिणाम आउने बताइन्छ ।
देउवा समूहबाट सभापतिमा नैनसिंह महर र महामन्त्रीमा सिटौलानिकट कुन्दनराज काफ्लेले उम्मेदवारी दिएका छन् भने पौडेल समूहबाट सभापतिमा मनोजमणि आचार्यले उम्मेदवारी दिएका छन् ।

अनशन बसेर आफ्ना प्रतिनिधि मनोनीत गरिएकाले देउवा समूहले सहजै जित हासिल गर्ने अनुमान गरिएको छ । देउवाले सिटौलालाई यसरी तेस्रो पक्षका रूपमा खडा गर्नुका पछाडि आफू पार्टीमा सांगठनिक रूपमा बलियो हुन भएको बताइन्छ । यसो गर्दा मन्त्री छान्दादेखि लिएर केन्द्रीय सदस्यमा मनोनयन, पार्टीका विभाग, कार्यसम्पादन समिति, संसदीय बोर्ड आदि गठन गर्दा पनि सिटौला पक्षको भाग खोज्ने र आफ्नै मान्छे पठाउन सजिलो हुने हुनाले देउवाले यो रणनीति लिएको कांग्रेसनिकट स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्