सिन्धुलीका कांग्रेस, एमाले र माओवादी नेता सामूहिक माग लिएर बालुवाटार छिरेपछि…


१४ असोज । सिन्धुलीका भूूकम्प पीडितको नामावली छुटेको भन्दै सिन्धुलीका नेता तथा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् । नामावली छुटेका भूकम्प पीडितको नामावली समावेश गर्न माग गर्दै उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

सिन्धुलीका सांसदद्वय हरिबोल गजुरेल, गणेश पहाडी, माओवादी नेता विषमलाल अधिकारी दनुवार, कांग्रेस जिल्ला सभापति उज्वल बराल, कांग्रेस जिल्ला नेता बिनोद गुरूङ्, नेकपा एमाले, सिन्धुली–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष अमर थापा मगरलगायतका नेता बालुवाटार पुगेका थिए ।

सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्यहरू, पूर्वअध्यक्षहरू, हत्पते, हर्षाही, सिर्थौलीलगायत गाविसबाट आएका भूकम्पीडित संघर्ष समितिका पदाधिकारी र स्थानीय बासिन्दा पनि ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए ।  भेटमा उनीहरुले विद्यूत हाइटेन्सन निर्माण, कमला नदीमा पुल निर्माण लगायतका मागसमेत राखेको पत्रकार युवराज बास्तोलाले जानकारी दिए ।

ज्ञापनपत्र बुझाउने क्रममा एमाले नेता तथा सांसद पहाडीले भूकम्प पीडितको समस्या, सुकुम्बासी समस्या, ऐलेनी जग्गा, जनता तटबन्ध कार्यक्रम लगायतको विषयमा समेत कुरा उठाएका थिए ।

भेटमा पहाडीले आफू प्रधानमन्त्री भएको ४५ दिन भित्रमा हेलिकप्टरबाट भएपनि पहिलो किस्ता रकम बाड्ने भनि गरिएको प्रतिवद्धता कार्यान्वयन हुन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।  सांसद हरिबोल गजुरेलले कर्मचारीले सहीढंगले काम गर्न नसकेको र अटेरी कर्मचारीलाई कारबाही समेत गर्न माग गरेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितका विषयमा सरकारको गम्भीर भएको भनेका थिए  । उनले ४५ दिनभित्र पहिलो किस्ता रकम दिने भनिएको सफल हुन नसकेकोमा दुख व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्