सीके राउतको रिहाइसँगै मधेसमा थपियो सुरक्षा चुनौती


१५ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै तराई–मधेसमा सुरक्षा चुनौती बढिरहेको बेला देश टुक्र्याउने भाषण गर्दै हिँडेका सीके राउतलाई सामान्य तारेखमा रिहा गरिएको छ । राउतको रिहाइसँगै मधेसमा सुरक्षा चुनौती थपिन पुगेको बताइन्छ ।

सिंगो मधेसलाई नेपालबाट अलग्याउनु पर्छ भनी उत्तेजक र राज्यविरुद्ध भाषण गर्दै हिँडेका राउतलाई केही महिनाअघि पक्राउ गरिएको थियो । उनलाई राज्य विरुद्ध सांगठनिक अपराध गरेको आरोपमा मुद्दासमेत चलाइएको थियो । तर, रौतहट जिल्ला अदालतले उनलाई केही दिनअघि सादा तारेखमा रिहा गरेपछि उनले मधेसमा पुनः उपद्रव मच्चाउने अनुमान लगाउन थालिएको छ ।

मधेसमा राज्य टुक्र्याउने भाषण गर्दै हिँडेका बेला उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । उनको गिरफ्तारीसँगै राउतका समर्थक भनिनेहरुले कपिलवस्तुको कृष्णनगरमा आन्दोलन गरेर तोडफोडसमेत गरेका थिए ।

‘मधेस स्वराज’ को माग उठाउँदै आएका राउतलाई केही मधेसी नेताहरुको पनि सहयोग रहेको बताइन्छ । उनको बाक्लो उठबस मधेसी नेताहरुका साथै तराईसँग सीमा जोडिएका भारतीय प्रान्तका केही नेताहरुसँग पनि रहेको बताइन्छ ।

पछिल्लो समय, मधेसी दलहरु र सरकारबीच दूरी कम भएर संविधान संशोधन विधेयक पारित गराउने तयारी भएसँगै राउतको रिहा हुनुलाई आश्चर्य र शंकास्पद रुपमा हेर्न थालिएको छ । राउतको रिहाइसँगै मधेसमा विखण्डनकारी व्यक्तिहरु पुनः सल्बलाउने र स्थानीय तहको निर्वाचनलाई चुनौती थपिने अनुमान लगाइन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्