सीमा अनुगमन बढाइयो, भारतबाट आउने हरेक नेपालीको निगरानी


सर्लाही, ९ चैत
भारतबाट आउने पैदलयात्री तथा नागरिकको स्वास्थ्य परीक्षण गर्न जिल्लाका विभिन्न सीमानाकामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । छिमकी देश भारतमा कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि भारतसँग सीमा जोडिएको सर्लाहीका नाकामा सतर्कता बढाउन थालिएको हो ।

सिमाना जोडिएका स्थानीय निकायसँगको समन्वयमा जिल्ला सदरमुकाम मलङ्गवासहित बलरा, गोडैता, पर्सा र ब्रह्मपुरीलगायतका सीमानाकामा स्वास्थ्य सहायता कक्ष राखेर स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भारतसँग खुला सिमाना रहेका कारण सतर्कता बढाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो ।

सदरमुकाम मलङ्गवामा नेपाल भारत दुवैतर्फबाट स्वास्थ्य सहायता कक्ष नै राखेर सतर्कता बढाउन थालिएको प्रजिअ जिसीले बताउनुभयो । अन्य सीमा नाकामा भने स्थानीय प्रहरी प्रशासन र स्थानीय निकायको पहलमा स्वास्थ्यकर्मी उपलब्ध गराएर भारतबाट नेपाल प्रवेश गर्नेको स्वास्थ्य जाँच शुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्