सीमा क्षेत्रमा नेपाली नागरिकमाथि गोली प्रहार हुने घटना गम्भीरः एमाले


२७ फागनु । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडान नम्बर ८ मा भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट स्थानीय बासिन्दा गोविन्द गौतमको निधन भएको घटनाप्रति एमालेले पार्टी स्तब्ध भएको जनाएको छ ।

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराई एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । ‘नेपालको सार्वभौमिकता र स्वतन्त्रतामा आँच आउने गरी सार्वभौम मुलुकका नागरिकमाथि गोली प्रहार गर्ने भारतीय हर्कतको हाम्रो पार्टी घोर निन्दा तथा भत्सर्ना गर्दछ,’ कल्भर्टका विषयमा भएको पूर्वसहमति उल्लंघन गर्दै भारतीय पक्षबाट नेपालको सीमामा पस्ने र नेपाली नागरिकमाथि गोली प्रहार गर्ने निन्दनीय काम भएको छ । यस घटनाले हाम्रो सार्वभौमिकतामाथि नै गम्भीर प्रहार गरेको छ ।’

एमालेले नेपाल सरकारसँग उक्त विषयलाई गम्भीरतापूर्वक भारत सरकार समक्ष उठाउन, घटनाका विषयमा जनतालाई यथार्य जानकारी दिन र आइन्दा यस्ता घटनाहरु नदोहो¥याउने भरपर्दो प्रतिबद्धता व्यक्त गराउन पनि आग्रह गरेको छ ।

‘विगतमा पनि भारतीय पक्षबाट सीमा क्षेत्रमा ज्यादतीहरु हुँदै आइरहेकोमा अहिले देशभित्र संविधान कार्यान्वयनका लागि बनिरहेको जनमतलाई भाँड्नका लागि कतै यस्ता गतिविधि सुनियोजित रुपमा त भइरहेका छैनन् भन्ने गम्भीर आशंका उत्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एकातिर शान्तिपूर्ण रुपमा मुलुकको प्रमुख प्रतिपक्षी दलले आयोजना गरेको मेची–महाकाली अभियानमाथि योजनाबद्ध रुपमा आक्रमण हुने अनि अर्कातिर सीमा क्षेत्रमा नेपाली नागरिकमाथि गोली प्रहार हुने घटनाले हामीलाई थप गम्भीर बनाएको छ । यस्ता घटनाका विरुद्धमा सचेत रहन र प्रतिवादमा उत्रिन हाम्रो पार्टी आह्वान गर्दछ ।’
त्यसैगरी एमालेले उक्त घटनामा परी ज्यान गुमाउने गौतमप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, उक्त घटनामा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । ‘पीडितका परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको उपचारको प्रबन्ध गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्