सुजातालाई उपचार खर्च ५० लाख दिने सरकारी निर्णयको गगनले यसरी गरे विरोध


२८ कात्तिक । कांग्रेस नेतृ सुजाता कोइरालालाई क्यान्सर उपचारका लागि सरकारले ५० लाख रुपैयाँ दिने निर्णयको स्वास्थ्य मन्त्री गगन थापाले विरोध गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई उपचार खर्चका लागि ५० लाख दिने निर्णय गरेर सरकार आफैँले गरेको निर्णयलाई लत्याएको मन्त्री थापाको आरोप छ ।

‘अर्थसमितिको बैठकले स्वास्थ्य मन्त्रालयलाई कार्यविधि बनाएर अघि बढ्न निर्देशन दिएको थियो,’ मन्त्री थापाको सचिवालयले गगनको भनाई उध्रित गर्दै भन्यो, ‘प्रधानमन्त्री स्वयंले पनि विशिष्ट पदाधिकारीलाई अधिकतम १५ लाखसम्म उपचार खर्च दिने गरी उपचार खर्चसम्वन्धी मापदण्ड बनाउन निर्देशन दिनुभएको थियो, त्यसको समेत अवज्ञा भएको छ ।’

सचिवालयका अनुसार अर्थमन्त्रालयले समेत खर्चसम्वन्धी मापदण्ड बनाउन निर्देशन दिएको स्मरण गरायो । ‘स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्डलाई लत्याएर हतार–हतार यस्तो निर्णय भयो,’ सचिवालयले भन्यो, ‘प्रधानमन्त्रीले पनि भनेपछि मन्त्रालयले कार्याविधि अगाडि बढाएको हो,’ तर, उहाँ (कोइराला)लाई उपचार खर्च दिने सन्दर्भमा मापदण्ड बाहिर गएर निर्णय गर्न मन्त्रालयलाई दवाव  दिने काम भयो । मन्त्रीज्युले असहमति जनाउनुभयो । स्वास्थ्य मन्त्रालयले नमानेपछि गृहबाट ल्याउने काम भएको छ, यो गलत छ ।’

प्रतिक्रिया दिनुहोस्