सुजाताले दुब्लो तर हँसिलो तस्बिर पोष्ट गर्दै भनिन् – ‘भगवानको आशिर्वाद र यहाँहरुको शुभेच्छाले म क्यान्सरमुक्त छु’


३ पुस  । पूर्व प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाले आफू स्वस्थ्य भएको जानकारी सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छिन् ।

मलेसिया भ्रमणमा रहेकै बेला अस्वस्थ भई उपचार गराउँदा कोइरालालाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि केही दिन घरमै आराम गरेपछि  थप उपाचारका लागि सिगापुर गएकी कोइरालाले आइतबार करिब ११ बजेतिर आफ्नै निवास मण्डिखाटारबाट आफू स्वस्थ्य भएको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस पोष्ट गरेकी छिन् । ‘समस्त शुभ चिन्तकहरुमा जय नेपाल,  पहिलो स्टेजको ब्रेस्ट क्यान्सरको उपचार क्रममा म्यासेक्टोमी पश्चात विभिन्न टेस्टहरुको क्रममा मेरो ओभरीमा पनि क्यान्सरस सिस्ट देखापरेको थियो,’  उनले पोष्ट गरेको स्ट्याटसमा भनिएको छ, ‘भर्खरै मात्र दोस्रो अपरेशनमार्फत यसको पनि सफल उपचार भएको छ । भगवानको आशिर्वाद र यहाँहरुको शुभेच्छाले गर्दा हाल म क्यान्सरमुक्त छु र विस्तारै मेरो स्वास्थ्यमा सुधार आउँदैछ । चाँडै नै म मेरो सार्वजनिक जीवनमा फर्किनेछु । तपाईंहरुको सदभाव तथा शुभेच्छाले मेरो स्वास्थ्य सुधारमा निक्कै मद्दत पुगेको छ । यसका लागि यहाँहरुप्रति म सदैव आभारी रहनेछु ।’

उनको त्यो स्ट्याटसमा चार हजार बढीले लाइक गरेका छन् भने १३ सयले कमेण्ट गरेका छन् । निकै दुब्लो तर हसिँलो अनुहारको तस्बिरसहितको स्ट्याटसमा अधिकांशले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्