सुत्केरी भएकै दिन श्रीमानको कुटाईबाट महिला गम्भीर घाइते


पर्वत, २६ चैत । सुत्केरी भएकै दिन आफ्नै श्रीमानले चिर्पट प्रहार गर्दा एक महिला गम्भीर घाइते भएकी छिन्। पर्वतको फलेवास नगरपालिका २ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया श्रीमति मुना नेपालीलाई आइतबार राति मरणासन्न हुने गरी कुटपिट गरेका हुन्।

आइतबार बिहान घरमा नै नवशिशु ९छोरा० लाई जन्म दिएकी मुनालाई राति ९ बजेको समयमा मदनले चिर्पट प्रहार गरेर घाइते बनाएका छन्। आइतबार राति नै छिमेकीको सहयोगमा घाइते मुनालाई जिल्ला अस्पतालमा पर्वतमा सामान्य उपचारपछि थप उपचारका लागि सोमबार दिउँसो पोखरा पठाइएको हो।

उनको टाउकोमा गहिरो चोट भएकाले टाँका मारिएको उपचारमा संलग्न स्वास्थ्यकर्मी जानकी शर्माले बताइन्। मदनले मदिराको नसामा सुत्केरी श्रीमतिमाथि हातपात गरेका हुन्।

रक्सीले मात्तिदै घरमा आएका उनले एक्‍कासी आफूमाथि हातपात गरेको पीडित महिला मुनाले बताइन्। घटनाको बारेमा छिमेकीले तत्कालै थाहा पाएका कारण छिमेकीको सहयोगमा मात्रै आफू बाँच्न सफल भएको पीडित महिलाले बताइन्।

प्रतिक्रिया दिनुहोस्