सुत्केरी भोकभोकै, खोइ राहत ?


महोत्तरी, २९ चैत । संगीता सादा ४५ दिनकी सुत्केरी हुन् । उनलाई अहिले आराम र पौष्टिक आहारको जरुरी छ । तर, उनले नुनरोटी पनि खान पाएकी छैनन् । आमाको दूध खान नपाएर संगीताकी छोरी सञ्जना रुन्छिन् ।

महोत्तरीको गौशाला नगरपालिका–६ फुलकाहास्थित मुसहर बस्तीमा सुत्केरी आमालाई लकडाउनले सताएको छ । सरकारले दिने राहत उनीहरूको घरमा पुगेको छैन । राहतमा राजनीति हुँदा प्रदेश २ मा वितरणमा ढिलाइ भइरहेको छ । गरिबलाई दिने राहतको नामावलीमा धनीको नाम समावेश रहेको बर्दिबास नगरपालिका १ का वडाध्यक्षले बताए ।

चैत १६ गते प्रदेश सरकारले गरिबलाई लकडाउनभर खाना उपलब्ध गराउन गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख उपमहानगरलाई २० लाख, महानगरलाई २५ लाख दिने निर्णय गरेको थियो । प्रदेश २ को अर्थ मन्त्रालयले स्थानीय तहको खातामा रकम पठाइसकेको छ । स्थानीय तहलाई पनि रकम थप्न भनिएको थियो ।

वडामा तथ्यांक संकलनमै दलका प्रतिनिधिले आफ्ना मान्छे (सम्पन्न) लाई पारेपछि विवाद चर्किएको छ । निमुखा गरिबका लागि आएको राहतमा धनीले आँखा लगाउँदा संगीता जस्ता सुत्केरीको घरमा राहत पुगेको छैन । प्रदेश २ मा २५ लाख गरिबको संख्या छ ।

कहिले आउँछ राहत ?

‘सबैतिर काम बन्द छ । घरबाहिर गयो प्रहरीले लखेट्छ । घरमा अन्न छैन । के खाउँ ?’ संगीताका श्रीमान् सञ्जय सदाले भने, ‘झन् छोरीलाई खुवाउन कठिन भयो । आमाले खाना खायो भने मात्र नानीले दूध पाउँछ ।

डेढ महिनाकी छोरी आमाको दूध खान नपाएर चिच्याउँछिन् । सरकारले दिने भनेको चामल–दाल कहिले आउँछ ?’कोरोना भाइरसको महामारीले लकडाउन भएपछि नहुँदा खानेलाई छाक टार्न धौधौ छ ।

फुलकाहाकै सुत्केरी अनिता सदालाई पनि छोरा आशिकलाई हुर्काउन समस्या छ । कमाउन भारतको पञ्जाब गएका श्रीमान् रामजी उता भोकै छन् । यता ललितालाई पाँच महिनाको दूधे बालक हुर्काउन कठिन बन्दै छ । खान नपाउँदा आमाको दूध सुकिसकेको छ । उनका थप दुई सन्तान ५ वर्षका दीपक र ७ वर्षीया छोरी चाँदनीलाई खाना जुटाउनै समस्या छ ।

‘घरमा चामल छैन, बच्चालाई के खुवाऊँ’, उनले भनिन्, ‘हातमा पैसा छैन, पसलले पनि उधारो दिँदैन । कहाँबाट खानेकुरा जोहो गरौं । सरकार, हामी भोकै मरौं ?’

महँगीले आकाश छोयो
अनिताको छिमेकी लालोदेवी सदाको परिवारमा ८ सदस्य छन् । कमाउने एक जना मात्रै । एक वर्षको काखे छोरी मनिका छिन् । लालोदेवी भन्छिन्, ‘कोरोना भाइरसभन्दा भोकमरीले नै हामी गरिब मर्छौं ।’

अहिले पहिलेको तुलनामा तीन गुणा महँगी बढेको उनले सुनाइन् । ‘कमाइ हुँदा हामी पालिएका थियौं । अहिले आम्दानी छैन । महँगीले अकाश छोइसक्यो’, उनले भनिन्, ‘अहिलेको बन्दले हामी भोकभोकै भयौं । सरकारले हामीलाई कम्तीमा खानेकुरा पठादिए त हुन्थ्यो नि !’

सरिताका ८ वर्षमुनिका ४ छोराछोरी छन् । ‘आफंैलाई खान पुग्दैन, कसरी बच्चालाई दूध चुसाउने’, उनले भनिन् । ज्याला मजदुरीले उनको १३ जनाको परिवार चलेको थियो । १७ दिनदेखि उनीहरू घरभित्रै छन् । खाना जुटाउन समस्या छ, उनी जस्ता प्रदेश २ का गरिबलाई ।

‘पहिले दुई जनाले कमाउँथे र परिवार चलेको थियो । अहिले त काम सबै बन्द छ । बाहिर निस्कियो कि प्रहरीले लाठी हान्छ’, उनले दुखेसो पोखिन् ।

अब बाँचिँदैन कि जस्तो भो !

बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ६५ मन्जुर अन्सारीको चुलो निभेको छ । घरमा चामल छैन । काम गर्न जाने अवस्था पनि छैन । ‘छिमेकीसँग मागेर खाऊँ भने लकडाउनको बेला छ, आफ्नै घर बस भन्छन्’, उनले भने, ‘सरकारले राहत दिन्छ भन्ने सुनेको पनि सात दिन भयो। आएको छैन । खानै नपाएर, बाँचिँदैन जस्तो भो ! ’

चामल, नुन, तेललगायत खानेकुरा पाए ठूलो राहत हुने आशमा छिन् विपन्न गरिब मनतोरी देवी महतो। उनका श्रीमान् बहादुर महतोले भने, ‘चामल सकिएको छ । अहिलेसम्म त अलिअलि जोहो गरेकाले खान पायौं। चामल पाए नुनसँग पनि खान सकिन्थ्यो ।’

महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरमा राहत वितरणमा रस्साकस्सी हुँदा गरिब मारमा परेका छन् । गरिबबाहेक केही थपलाई राहत दिनुपर्ने भन्दै वडा कार्यालयमा पार्टी प्रतिनिधिले आआफ्नै नामावली पेस गरेका छन् ।

टाठाबाठाले राहत दाबी गर्दा राहत लिनेको संख्या २ सय २८ बाट ४ सय ७७ जना पुगेको छ । बर्दिबास नगरपालिकाले एक साताअघि नै गिट्टी कुट्ने, दैनिक ज्यालामजदुरी गर्ने, विपन्न, गरिबलाई राहत वितरण गर्न निर्देशन दिएको थियो ।

भोको पेटमाथि राजनीति
प्रदेश २ मा गरिबको खानपिनको अवस्था दयनीय छ । सामान्य अवस्थामा पनि यहाँका गरिबलाई हातमुख जोड्न मुस्किल छ । भोकाहरूलाई वितरण गर्न आएको राहतमा राजनीति हुँदा गरिब तथा निमुखा महिलाको गर्भदेखि काखे बच्चा र युवा, वृद्धवृद्धा भोकभोकै छन् ।

प्रदेश २ सरकारले प्रकाशन गरेको प्रदेश २ को जनसांख्यिक स्थिति प्रोफाइल ०७६ अनुसार ६१ लाख ५८ हजार जनसंख्या छ । बहुआयामिक गरिब प्रतिशत नेपालभर २९ छ भने प्रदेश २ मा ४८ प्रतिशत छ । चमार, हरिजन, राम, धानुक, मुसहर, कुर्मी, दुसाद, पासवान र पासी जाति गरिबीको चपेटामा छन् । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्