सुनिताको आँसुबाट सिर्जित शक्ति


संघर्षलाई जीवन सफलताको आधार ठान्नेहरूले नै अन्ततः सफलताका सिँढीहरू आरोहण गरेरै छाड्छन् भन्ने उदाहरण हो, सुनिता दनुवार । उनको जीवन–वृत्तान्त अध्ययन गर्नेहरुले सहजै ठम्याउन सक्छन्, जुन मानिसले संघर्षका लामा–लामा धर्साहरू कोरेका छन्, तिनीहरू नै सफलताको शिखर चुम्न सक्षम ठहरिन्छन् । दनुवार नेपाली समाजभित्रकी एउटी त्यस्ती पात्र हुन्, जसको जीवनका हरेक मोड संघर्षमय रह्यो र संघर्षका अनगिन्ती चुचुराहरू छिचोल्दै समाजका एक प्रेरणादायी शक्तिका रूपमा उनी स्थापित भइन् ।

‘आँसुको शक्ति’ तिनै संघर्षशील महिला दनुवारको जीवनवृत्त हो, जसमा उनले बाल्यकालदेखि युवा–उमेरमा झेलेका अनेक दुःख, कष्ट, पीडा र अवहेलनाहरूलाई सूत्रबद्ध रूपमा उतारेका छन् । मध्यपश्चिमको दैलेखमा जन्मिएकी दनुवारको परिवारले जहिल्यै संघर्षसँग मात्रै साक्षात्कार गर्नुप¥यो । उनीहरूको परिवारको एक अभिन्न अंग बनेको थियो– संघर्ष । बाबु–आमाका १० सन्तानमध्ये कान्छी दनुवारले सानैदेखि दुःख झेल्नुप¥यो । उनी सानै छँदा सासूको उत्पीडन खप्न नसकेपछि उनकी आमा एक दिन दाजु र उनलाई लिएर बर्दियातिर झरिन् । तर, दुइटा बच्चालाई बोकेर लामो यात्रा गर्नु त्यति सजिलो भने थिएन । घर छाडेर हिँडेको थाहा पाएपछि उनको बुबाले उनीहरूलाई खोज्दै पछ्याए र घरबाट हिँडेको केही दिनपछि नै बाटैमा भेट्टाए । त्यसपछि दैलेख नफर्किने कसम खाएकी उनकी आमालाई लिएर बुबा बर्दिया आए र सबैजना दिदीको घरमा बस्न थाले ।

लामो समयसम्म दिदीको घरमा बस्दा भिनाजू र परिवारका अरु सदस्यहरुको व्यवहार रुखो बन्दै गएको महसुस गरेपछि सबैजना सुर्खेततिर लागे र यहाँ उनको परिवारले पसल चलाउन थाले । पसल राम्ररी नै चलिरहेको थियो । तर, उनका बुबाको सरसंगत वादी समुदायका महिलासँग हुन थालेपछि फेरि आमाले सुर्खेत छाड्ने घोषणा गरिन् र उनीहरू सबै भारतको जम्मुतिर लागे ।

जीवनका संघर्षमय दिनहरू छिचोल्दै जाँदा एक दिन उनलाई केही दलालले लठ्याउने औषधि खुवाएर मुम्बईमा लगेर बेचे । मुम्बईमा बेचिएपछि उनका पीडा, दुःखहरू छरपस्ट मात्र हुँदैनन्, अस्तित्वमाथि नै धावा बोल्न थालिन्छ दिनहुँ । मुम्बईमा बेचिएपछिका दिनहरूलाई स्मरण गर्दै उनले लेखेकी छन्, ‘जब सम्पूर्ण रूपमा म होसमा आएँ, एउटा यस्तो कोठामा मैले आफूलाई पाएँ, जुन मेरा लागि बिल्कुल नौलो थियो । फलामै फलामले बारिएका झ्यालबाट बाहिर केही देखिँदैनथ्यो । उठेर दायाँ–बायाँ हेर्न थालें । त्यहाँ थुप्रै कोठा रहेछन् । छेउका कोठाहरूमा मजस्ता केटीहरू लहरै सुतिरहेका रहेछन् । कोही अर्धनग्न अवस्थामा पल्टिएका थिए, कोही टु–पिसमा लडिरहेका थिए । एउटा छेउमा केही केटी छिल्लिरहेका देखिन्थे । ओठमा गाढा रातो लिपिस्टिक, गालामा भद्दा मेकअप अनि आँखामा लत्पतिएको गाजलमा सजिएका ती केटीहरू भर्खर सोह्र–सत्र वर्षका जस्ता देखिन्थे । उनीहरूको पोसाक र हाउभाउ अलि भिन्न थियो । यी केटीहरू यहाँ के काम गर्छन् होला भन्ने जिज्ञासा मेरो मनमा पलायो ।’

मुम्बईको कोठीमा बेचिँदा उनले आफ्नो शरीर अरूलाई सुम्पिन पटकपटक इन्कार गरिरहिन् । तर, एक दिन भने एउटा कोठीबाट अर्कै कोठीमा बेचिएकी उनीमाथि सामूहिक रूपमा बलात्कार गरियो । यो उनको जीवनको अत्यन्तै दुःखद र पीडाजन्य क्षण थियो । तर, ०५३ सालमा दनुवारलगायत ९६ युवतीहरूलाई उद्धार गरियो, जसमा विशेष भूमिका मानवअधिकारकर्मी गौरी प्रधानले खेलेका थिए । र, कोठीबाट उद्धार गरिएका युवतीहरूलाई नेपाल फर्काउन जहाजको टिकटको खर्च भने भारतीय चलचित्रका अभिनेता सुनिल सेठ्ठीले बेहोरेका थिए । दनुवार लेख्छिन्– ‘हामीलाई स्वदेश फर्काउन आएका ती भद्रभलादमी पुरुष थिए, बाल मजदुर सरोकार केन्द्रका अध्यक्ष गौरी प्रधान, जसलाई हामीले शंकैशंकामा मुखमा आएजति गाली गरेका थियौं ।’

नेपाल फर्किएपछि दनुवारले महिला हक, अधिकार, हिंसाविरुद्ध आफूलाई उभ्याइनन् मात्र, महिला बेचबिखन र ओसारपसारविरुद्ध प्रभावकारी काम गरेकी हुँदा विभिन्न राष्ट्रिय÷अन्तर्रा्ष्ट्रिय संघ÷संस्थाहरूले उनलाई सम्मानित र पुरस्कृतसमेत ग¥यो । महिला बेचबिखन र ओसारपसारविरुद्ध स्थापित शक्ति समूहकी उनी संस्थापक पनि हुन् ।

संघर्षशील पात्र सुनिताको जीवनवृत्त पढ्दा कुनै पुस्तक पढिरहेको होइन, कुनै चलचित्र हेरिरहेकोजस्तो अनुभूति हुन्छ । प्रस्तुतीकरण यति बेजोड लाग्छ कि, जसले निरन्तर तानिरहन्छ र धैर्यपूर्वक पढ्ने लालसा वृद्धि गराउँछ । तर, यति हुँदाहुँदै पनि भाषागत त्रुटिहरूको बाहुल्यका कारण दाँतमा ढुंगा ठोक्किएको अनुभूति पनि हुन्छ । शुद्धाशुद्धिका साथै चुस्त सम्पादनमा ध्यान पु¥याउन सकेको भए यो कृतिको वजन अझै बढ्नेमा शंका गर्ने ठाउँ देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्