सुन्तलीले मध्यरातमा ‘लभ यु बूढा’ भनिन् मैले ४ बजे गिफ्ट दिएँः धुर्मुस


 ३ फागुन । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन् डे आजकै दिन विश्वभरि नै यो दिवसलाई धुमधामसँग मनाइरहेका छन् । हरेक वर्ष १४ फेब्रुअरीका दिन मनाइने यो दिवसमा प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भ्रातृत्व साटासाट गरी मनाउने चलन छ ।

प्रेमभक्त ‘भ्यालेन्टाइन’ लाई मृत्युदण्ड दिएको सम्झनामा मनाउने यो प्रणय दिवसलाई विश्वभरि नै फरक–फरक ढंगले मनाउने गरेका छन् । नेपालमा पनि यो दिवसलाई फरक–फरक ढंगले मनाउने गरिएको छ । योपटकको भ्यालेन्टाइन डे चर्चित कलाकार धुर्मुस–सुन्तली अर्थात् सीताराम कट्टेल र कुञ्जना घिमिरेले भने फरक ढंगले मनाएका छन् ।  महोत्तरीको मुसहर बस्ती निर्माण अभियानमा जुटेका यी जोडीले कसरी भ्यालेन्टाइन डे मनाए ? धुर्मुसकै शब्दमा ः

म सुतुवा संघको अध्यक्ष नै हुँ । दिन ढल्के र रातले आक्रमण गर्न थालेपछि निद्राको मात्रा पनि बढ्दै जान थाल्छ । सोमबार पनि म बेलुका खाना खाएपछि मस्त निधाएको थिएँ । कुञ्जनाचाहिँ राति १२ बजेसम्म मलाई ढुकेर बसेकी रहिछन् । मध्य राति १२ बजे उनले भावुक स्टाटस हालेपछि मलाई ‘लभ यु बूढा’ भनिन् । मैले मस्त निद्रामै ‘थ्यांक्यु सेम टु यु’ भनेछु । बिहानको ४ बजे निद्राले छाडेपछि पो म झसंग भएँ । जुरुक्क उठेर बर्दिबासको एउटा पुसलमा पुगे । त्यहाँ मैले एउटा गिफ्ट तयार पार्न लगाएको थिएँ । बिहान ४ बजे नै सटर खोल्न लगाएर त्यो मस्त निद्रामा परेकी कुञ्जनालाई दिएँ । उनी पनि भावुक भइन् ।

बिहानको ६ बजेपछि हामी सबै काममा व्यस्त भयौं । मुसर बस्तीका जनतासँग मेरो र कुञ्जनाको मन जोडिएको छ । त्यसैले, हामीले त्यहाँका जनतासँग हामीले भ्यालेन्टाइन् डे मनायौं ।
भ्यालेन्टाइन डेकै अवसर पारेर हामीले मुसहर बस्तीका बालबालिकालाई लिटो, ल्याक्टोजिन खुवाउने अभियानको सुरुवात गरेका छौं । उनीहरूका आमालाई पनि दूध र पोसिलो खाना खुवाउने अभियान सुरु गरेका छौं ।

४ करोड ७८ लाखको रुपैयाँको लगानीमा निर्माण गर्न लागिएको त्यो बस्तीलाई पूर्ण बनाउन हामी अहिले लागेका छौं । अहिले २ करोड ५० लाख जुटेको छ । बाँकी रकम जुटाउन लागेका छौं । भ्यालेन्टाइन डेको अवसरमा सबैलाई यही मुसहर बस्तीबाट शुभकामना भन्न चाहन्छौं । यही वैशाख १ गते हस्तान्तरण गर्ने यो बस्तीमा सहयोगका सहयोगी हात उठ्न सकून् । भ्यालेन्टाइन डेको फेरि शुभकामना !

प्रतिक्रिया दिनुहोस्